विराटनगर / प्रदेश १ सरकारले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि हालसम्म भएको खर्चको हिसाब सार्वजनिक गरेको छ ।
प्रदेश नं. १ प्रदेशसभा बजेट अधिवेशनको मङ्गलबार बसेको बैठकमा प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणमा हालसम्म भएको खर्च सार्वजनिक गर्नुभएको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सोमबार बसेको प्रदेशसभा बैठकमा कोरोना नियन्त्रणका लागि हालसम्म भएका खर्च सार्वजनिक गर्न माग गर्दै बैठक अवरुद्ध गरेपछि प्रदेश सरकारका तर्फबाट मन्त्री कार्कीले मङ्गलबार बसेको प्रदेशसभा बैठकमा सम्पुर्ण खर्च विवरण सार्वजनिक गर्नुभएको हो । प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले मन्त्रालयगत रुपमा खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।
मन्त्री कार्कीले हालसम्म प्रदेश सरकारको कोरोना जनसुरक्षा कोषमा जम्मा भएको कुल २९ करोड ५१ लाख ७३ हजार १ सय ४२ रुँपैयामध्ये १९ करोड ८२ लाख ७१ हजार १ सय ७० रुपैया निकासा र ९ करोड ६९ लाख १ हजार ९ सय ७२ रुँपैया नगद मौज्दात रहेको बताउनुभयो । प्रदेश सरकारले क्वारेन्टाईन र होल्डिङ एरिया निर्माण तथा व्यवस्थापन, सुरक्षा र व्यवस्थापनका लागी सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी परिचालन, जनचेतामुलक सामाग्री उत्पादन एवं प्रकाशन तथा प्रसारण र स्थानीय तहलाई राहत व्यवस्थापनमा सहयोग लगायतका शीर्षकमा कोरोना जनसुरक्षा कोषको रकम खर्च गरेको उहाँको भनाई छ ।
त्यस्तै मन्त्री कार्कीले कोरोना जनसुरक्षा कोषमा रहेको रकम विभिन्न मन्त्रालयहरुमार्फत तल पठाईएको जिकिर गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मार्फत ५० लाख १ सय १५, भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत २ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत १५ करोड ३४ लाख र सामाजिक विकास मन्त्रालय मार्फत २ करोड ४८ लाख ७१ हजार २० रुँपैया खर्च गरिएको अवगत गराउनुभयो ।
उहाँले देशका अन्य क्षेत्रबाट काठमाडौं प्रवेश गर्नका लागी संघीय सरकारले जारी गरेको पास प्रणाली झन्झटिलो भएको जनगुनासोको बिषयमा समेत संघीय सरकारलाई ध्यानाकर्षण गराईने स्पष्ट पार्नुभयो ।
प्रदेश नं. १ प्रदेश सभा बजेट अधिवेशनको अर्को बैठक भने असार १० गते बुधबार दिनको १२ बजे बस्ने गरि बोलाईएको छ ।