विराटनगर । झापा र सुनसरीबाट लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
झापाको कमल गाउँपपालिका ५ स्थित पाडाजुंगी गौरीगंज सडकखण्डबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा खयरवारीका २१ वर्षीय सेरा अली सोही स्थानका २३ वर्षीय अन्नतप्रसाद गणेश र कमल गाउँपपालिका ५ का २० वर्षीय दिपेश थापा रहेका छन् । मोटरसाईकलमा सवार गरी आएका तीनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट प्लाष्टिकको पोकामा लुकाईछिपाई राखिएको २८ ग्राम ९७ मिलिग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको हो ।
निजहरुको साथबाट नगद ६ हजार रुपैयाँ, २ थान मोबाईल र उनीहरु सवार गरी आएको दुईवटा पल्सर मोटरसाईकलसमेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
यसैगरी सुनसरीको बराहक्षेत्र ८ शेरेचौकबाट दुई जनालाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र ७ पिपलगाछीका २१ वर्षीय अनिल धामी र धरान १७ का २२ वर्षीय विशाल भुजेल रहेका छन् ।
मोटरसाईकलमा सवार गरी आईरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट डाइजापाम ११ एम्पुल, एभिल ११ एम्पुल र लुपिजेसिक ११ एम्पुल लागुऔषध फेला पारी बरामद गरेको हो । साथै उनिहरु सवार गरी आएको १ थान पल्सर मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
उता लागूपदार्थ ओसारपसार गरेको आरोपमा सुनसरीमा दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको सुपौल ग्राम पञ्चायत १ का २० वर्षीय लक्ष्मणकुमार पासवान र १९ वर्षीय अर्जुनकुमार पासवान पक्राउ परेको प्रहरीले जनाएको छ ।
सुनसरीको कोसी गाउँपालिका ७ हरिपुरमा उनीहरू पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको गस्ती टोलीले शंका लागेर जाँच गर्दा कालो प्लास्टिकभित्र लुकाएको अवस्थामा ब्राउनसुगर बरामद भएको हो । उनीहरूका साथबाट केही भारतीय रुपैयाँ, भारतका विभिन्न बैंकका एटीएम कार्ड पनि बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ ।