विराटनगर । प्रदेश १ मा सोमबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार मोरङका १२ जना र झापाका ३ जना गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मोरङको रंगेली नगरपालिकाका ८ जना र सुन्दरहरैचा नगरपालिकाका ४ जनामा कोरोना पोजेटिभ देखिएको हो । त्यस्तै झापाको दमकमा एकजना र भद्रपुरमा दुईजनामा कोरोना पोजेटिभ देखिएको प्रदेश सरकारले जनाएको छ ।
सुन्दरहरैचा नगरपालिकामा संक्रमण पुष्टि भएका चारजना एकै परिवारका हुन् । भारतको दिल्लीबाट केही दिनअघि फर्किएका एकै परिवारका चारजनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित आमा, बुबा, ७ वर्षीय छोरी र ५ वर्षीय छोरा छन् ।
कोशी अस्पताल विराटनगर र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि देखिएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४६३ पुगेको छ ।