विराटनगर । कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामको लागि गत चैत ११ गते लकडाउन घोषणा भएपछि सामाजिक र आर्थिक गतिबिधि ठप्प प्रायः भएपनि प्रदेश नं १ मा जघन्य अपराधका घटना भएका छन् । लकडाउनको समयमा प्रदेशमा आफन्तकै संलग्नतामा एक दर्जन जघन्य हत्या अपराधका घटना भएका छन् ।
कतै श्रीमानले श्रीमती त कतै श्रीमतीले श्रीमानको हत्या गरे, कतै छोराले बाबुआमा त कतै छोराले बाबुको हत्या गरे । अति कतै सालाले भिनाजुको र कतै छोरीबाट बाबुको हत्या भयो । सामान्य निहुँमा साथीको हत्याका घटना पनि भए ।
छोराहरुबाट बाबुको हत्या
विराटनगर महानगरपालिका–१४ झडियारीमा बस्दै आएका ६९ वर्षीय सत्यराम भनिने सिताराम चौहानको २०७७ जेठ ३ गते उनकै दुई जना छोराहरुले हत्या गरे । पैसा मागेको भनेर रक्सीले मातेको सुरमा फरुवाले हानेर बाबुको हत्या गरेपछि उनीहरुले घरभित्रै खाल्डो खनेर गाडेका थिए ।
जेठ ७ गते प्रहरीले शव बरामद गरेपछि हत्या आरोपमा मोरङ प्रहरीले जेठा छोरा २९ वर्षीय रोहित र माईला छोरा २६ वर्षीय नागेन्द्र चौहानलाई पक्राउ गरेर मुद्दा चलायो । उनीहरु जिल्ला अदालत मोरङको आदेशमा पुर्पक्षका जेल चलान भएका छन् ।
श्रीमतीको योजनामा श्रीमानको हत्या
२०७७ जेठ ४ गते सुनसरीको ईटहरी स्थायी घर भई बिराटनगर मधुमारामा बस्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको उननै श्रीमती मीना श्रेष्ठकोे योजनामा घरभित्रै हत्या भयो । मा देवी पाथीभरा फार्मेसीका सञ्चालक देवीप्रसादको सिराहको लहान घर भई विराटनगर बस्ने उनकै पूर्व कामदार २१ वर्षीय ब्रहमदेव साह र सुनसरी ईटहरीका २० वर्षीय सोनु साहसँग मिलेर श्रीमति मिनाले हत्या गरेकी थिइन् ।
ओछ्यानमै हत्या गरेपछि विरामी भएको बहाना गर्दै उनलाई अस्पताल लगिएको थियो । ब्रम्हदेवसँगको सम्बन्धमा रहेकी श्रीमतिले त्यसबारे देविप्रसादलाई जानकारी भएपछि उनको हत्या गरेकी हुन् । सबैलाई प्रहरीले पक्राउ गरेर कर्तब्य ज्यान अपराधमा मुद्दा दर्ता गराएको थियो । उनीहरुलाई पनि अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ ।
छोराले आफ्नै बाबुको हत्या
सोलुखुम्बु महाकुलुङ गाउँपालिका ४ का १९ वर्षीय कुवेर राईलाई आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले गत जेठ ३० गते पक्राउ गरेको छ । घरायसी विषयमा भएको विवादलाई लिएर कुबेरले बाबु ५७ वर्षीय सन्तकुमार राईलाई आगो फुक्ने फलामको ढुंग्रोले जेठ २९ गते घाँटी र टाउकोमा हानेर हत्या गरेका थिए ।
छोराको प्रहारबाट बाबु सन्तकुमारको घटनास्थलमानै मृत्यु भएको थियो । घटनाबारे सोलुखुम्बु प्रहरीले शुक्रबार बिहान जानकारी भएपछि कुबेरलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको सोलुखुम्ब प्रहरीले जनाएको छ ।
बाबुआमाकै हत्या गर्ने निर्दयी छोरा
तेह्रथुममा आफ्नै छोराबाट एक दम्पतीले ज्यान गुमाउनु परेको छ । गत वैशाख २५ गते घरायसी विवादमा फेदाप गाउँपालिका ९५ ईसिबु का २० वर्षीय कञ्चन लिम्बूले ४२ वर्षीय बाबु रुपबहादुर लिम्बू र ३५ बर्षीया आमा रुपेनी लिम्बूलाई बन्चरो प्रहार गरी हत्या गरेका थिए ।
बाबु खेतमा काम गर्न गएको बेला घरभित्र रहेकी आमालाई बञ्चरोले टाउकोमा प्रहार गरी हत्या गरेका कञ्चनले घरबाट बाहिर निस्कदा आगाडि बाबुलाई देखेपछि त्यही बञ्चरोले काटेर हत्या गरी फरार भएका थिए । फरार रहेका उनलाइ केहि समयभित्रै प्रहरीले पक्राउ गरेको थियो ।
आमाले गरिन् आफनै शिशुको हत्या
मोरङमा नवजात शिशुको हत्या गर्ने १ महिला पक्राउ परेकी छन् । अबैध सम्बन्धबाट गर्भ रहेपछि १७ चैत ३८ वर्षीया महिलाले शिशुलाई ट्याईलेटमा जन्म दिएर हत्या गरी शव खोलाको किनारमा फालेकी थिईन् । अनुसन्धान थालेको मोरङ प्रहरीले हत्या आरोपमा महिलालाई २४ घण्टाभित्रै पक्राउ गरि मुद्दा चलाएको छ ।
श्रीमतीद्वारा श्रीमानको हत्या
खोटाङ र धनकुटामा आ–आफ्नो श्रीमानको हत्या गरी फरार रहेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको छथरजोरपाटी पानीट्याङ्की बस्ने ४२ वर्षीया धनमाया लिम्बूले गत वैशाख ७ गते घरायसी विषयमा विवाद हुँदा ४७ वर्षीय श्रीमान ईन्द्रबहादुर लिम्बूलाई घरेलु हतियार तथा लाठीले टाँउकोमा प्रहार गरी हत्या गरेकी थिइन् ।
त्यस्तै खोटाङ बाह्रपोखरीकी ५० वर्षीया मेनुका राईले गत वैशाख १ गते आफ्नै श्रीमानको हत्या गरिन् । बिहानको खाना खाएर बाहिर घाम तापेर बसिरहेको अवस्थामा घरायसी विषयमा विवाद हुँदा मेनुकाले श्रीमान कुमार राईलाई खुकुरी प्रहार गरि हत्या गरेकी थिइन् । उनलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ ।
उदयपुरमा श्रीमतिको हत्या
उदयपुरको रौतामाई गाउँपालिका बस्ने ५२ वर्षीय बिष्णु तामाङले गत जेठ १२ गते आफ्नै श्रीमती ४३ वर्षीया दिलमाया तामाङको हत्या गरे । मजदुरी काम गर्दै आएका दुबै जनाबीच घरायसी समस्याका कारण झगडा भएपछि बिष्णुले श्रीमती दिलमायालाई खुर्पाले टाँउकोमा प्रहार गरेका थिए । श्रीमतीको हत्या गरेर फरार भएका विष्णुलाई २४ घण्टा भित्रै प्रहरीले पक्राउ गरेको थियो ।
खोटाङमा सालाले गरे भिनाजुको हत्या
खोटाङको केपिलासगढीमा आफ्नै भिनाजुको हत्या गरी फरार दुईजना सालालाई प्रहरीले पक्राउ गरको छ । खोटाङको केपिलासगढीमा बस्दै आएका २७ वर्षीय मिलन राई र उनका भाई २० बर्षीय जीवन राईले गत वैशाख २४ गते भिनाजु ४७ वर्षीय प्रितिलाल राईको हत्या गरेका थिए ।
श्रीमतिको हत्या आरोपमा १० वर्ष जेल सजाय भोगेर घर आएका मिलनलाई बदला लिन सालाहरुले हत्या गरेका थिए । भिनाजुको हत्या गर्ने दुबै सालालाई प्रहरीले २४ घण्टाभित्रै पक्राउ गरेको थियो ।
इलाममा छोरीले गरिन् बाबुको हत्या
ईलामको देउमाई नगरपाकिला शान्तीडाँडामा २५ वर्षीया शुष्मा राईले आफ्नै बाबु ५१ वर्षीय फुलबहादुर राईको हत्या गरेकी छन् । बाबुको हत्या गरी फरार रहेकी उनलाई तत्काल पक्राउ गरी प्रहरीले सार्बजनिक गरेको थियो । गत जेठ ६ गते खाना खाएर घरमा बुबासँग गफ गरेर बसिरहेको अवस्थामा विवाद हुन थालेपछि शुष्माले बाबुको टाउकोमा बञ्चरो प्रहार गरेकी थिइन् । घटनापछि नजिकै रहेको जंगलमा लुकीछिपी बसेको अवस्थामा बन्चरोसहित उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
सुनसरीमा साथीको हत्या
सुनसरीको इटहरी उपमहानगरपालिकामा रक्सी खाँदा झगडा भएको निहुँमा साथीले आफ्नै साथीको हत्या गरेका छन् । गत जेठ १८ गते इटहरी १९ का २८ वर्षीय रादन राईको हत्या गर्ने मोरङको कानेपोखरीका २० का वर्षीय प्रज्वल तामाङ, इटहरीका १९ वर्षीय अभिषेक केसी र २३ वर्षीय अभिषेक पौडेललाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बेलायतबाट बिदामा आएका साथी रादनलाई साथीको घरमा पार्टी खान बोलाएर छुरा प्रहार गरि हत्या गरेका थिए ।
बदला लिन छिमेकीको हत्या
सुनसरीको बराहक्षेमा बस्दै आएका ३७ वर्षीय कमल राईको गत जेठ १७ गते छिमेकीहरुले हत्या गरे । उनीहरुले राईको हत्या गरेर ईक्राही जमुनाकित्ता स्थित प्लटिङ जग्गामा फालिदिएका थिए । प्रहरीले कमलको हत्यामा संलग्न सुनसरी बराहक्षेत्र ईक्राहीका २२ वर्षीय गणेश लिम्बू र सोही स्थानका १९ वर्षीय प्रदीप राजधामीलाई २४ घण्टाभित्रै पक्राउ गरेको थियो । पूर्वरिसिबीको कारण योजनाबद्ध रुपमा कमललाई मादक पदार्थ सेवन गराई नजिकै रहेका प्लटिङ जग्गामा लगेर लाठ्ठीले टाउको तथा शरिरका संवेदनशिल अंगमा कुटपिट गरी उनीहरुले हत्या गरेका थिए ।
आमाको हत्यापछि आफनै घाँटी रेटेर आत्महत्या
मोरङको बेलवारी नगरपालिका ४ काकुम बुधबारेका ३० वर्षीय जीवनबहादुर लिम्बूले जेठ १५ गते ईटा प्रहार गरेर आफ्नै आमा ५५ वर्षीया देवीकुमारी लिम्बूको हत्या गरे । त्यसपछि उनले चक्कुले घाँटी रेटेर आत्महत्या गरेका थिए । लागुऔषध प्रयोगकर्ता उनले आमा देवकुमारीलाई घरको भन्साभित्रै निधारमा ईटा प्रहार गरी हत्या गरेका थिए ।
आमाको हत्यापछि जीवनले छिमेकीको घरमा गएर धारिलो हतियारले आफ्नो घाँटी आफैले रेटेर आत्महत्या प्रयास गरेका थिए । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।