विराटनगर । नेपाल–भारत सीमा क्षेत्रमा आवतजावतमा रोक लगाइएको भएपनि तस्करी नरोकिएको पाइएको छ । औषधी व्यवस्था विभागमा दर्ता नभएका र कतिपय दर्ता भएका औषधि पनि लकडाउनको समयमा तस्करी भएर भारतबाट नेपाल आइरहेको खुलेको छ ।

औषधी व्यवस्था विभागमा दर्ता नभएका डिडेजाइसमेन्ट ५ सय एमजीका इन्जेक्सन र विभागमा दर्ता भएको टाइजेबेस्ट, बक्सल्टन, ह्युमेन रेविज इमिनोग्लोवुलिन, भासप्रेसन इन्जेक्सन, ल्याबेटालोल इन्जेक्सन, म्यारोपेनेन इन्जेक्सनको तस्करी हुने गरेको छ ।

औषधीको लेबल प्याकेजिङ्ग पनि तस्करी हुने गरेको छ । जानकारहरुका अनुसार तस्करी धन्दामा लागेको गिरोहले भारतबाट अवैध रुपमा नक्कली औषधी ल्याएर लेबल लगाएर प्याकेजिङ्ग गरेर दोब्बर मुल्यमा विक्री गर्दछन् ।

दोब्बर मुनाफा आर्जन गर्ने उद्देश्यले औषधीको तस्करी धन्दामा लागेको हुन् । केही वर्ष अगाडि भारतबाट अवैध रुपमा विराटनगरसहित पूर्वी सहरमा नक्कली औषधीको तस्करी गर्ने गिरोहलाई प्रहरीले रंगेहात पक्राउ गरेसँगै तस्करी नियन्त्रणमा आएको थियो । अहिले आएर पुनः सिमावर्ती क्षेत्र हुदै भारतबाट विराटनगरमा औषधीको तस्करीको धन्दा सलबलाएको बुझिएको छ ।

प्रहरीले केही दिन अगाडि विराटनगर–१६ बाट ठूलो परिणामको औषधि र मास्क बरामद गरेपछि दुईदेशीय नाकामा आवतजावतमा रोक लगाइएको भएपनि तस्करीधन्दा बाहिर आएको छ । नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिकै रहेको सीता तामाङको खाली घरमा बाहिरबाट ताला लगाई लुकाएर राखेको अवस्थामा प्रहरीको क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले औषधि र मास्क बरामद गरेको थियो ।

तस्करी गरेको सामान दशगजा नजिकैको घरमा स्टक गरेर राख्ने र सुरक्षाकर्मी अन्यत्र व्यस्त भएको मौकामा नेपाल ल्याउने गरेको पाइएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताउनुभयो । दशगजा नजिकैको घरबाट औषधि र मास्क बरामद भएपछि तस्करले अपनाउने गरेको नयाँ उपायका बारेमा थाहा भएको उहाँको भनाइ छ ।

बरामद भएको औषधि र मास्क ८ लाख २८ हजार ९ सय ९५ रुपैयाँ मूल्य बराबरको रहेको छ । तस्करीमा संलग्नले भारतबाट ल्याएर अस्पताल र औषधि पसलमा बिक्री गर्दछ । भारतमा सस्तोमा औषधी खरिद गरेर अवैध रुपमा नेपालमा ल्याएपछि दोब्बर बढी मूल्यमा विक्री हुने गर्दछ ।

औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जीव कट्टेलले विभागमा दर्ता नभएका औषधी ल्याउन पूर्ण रुपमा प्रतिवन्ध रहेको बताउनुभयो । केही दिन अगाडि प्रहरीले बरामद गरेको ३ प्रकारको औषधी विभागमा दर्ता नभएको र विभिन्न ५ प्रकारका विभागमा दर्ता भएपनि अवैध रुपमा ल्याएको पाइएको उहाँको भनाइ छ ।

औषधी व्यवसायीको ज्ञापनत्र
यसैबीच नेपाल औषधी व्यवसायी संघ मोरङले अवैध रुपमा भारतबाट हुने औषधीको तस्करी रोक्न माग राख्दै प्रहरी र औषधी व्यवस्था विभाग विराटनगरमा ज्ञापनपत्र बुझाएको छ । संघका पदाधिकारीहरूले मोरङ प्रहरी र औषधी व्यवस्था विभाग विराटनगरमा अवैध रूपमा हुने तस्करी रोक्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।
औषधी व्यवयासी संघ मोरङ शाखाका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष देशबन्धु ढकाल र महासचिब दिनेश ठाकुरले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारी र औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संञ्जिव कट्टेललाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।