विराटनगर । प्रदेश नं. १ मा विराटनगरको दुई वटा र सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबाट भइरहेको कोरोना परीक्षण अब झापाको मेची अस्पतालबाट पनि हुने भएको छ ।
प्रदेशमै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको झापाको कचनकबल नजिक रहेको भद्रपुर नगरपालिका स्थित मेची अस्पतालबाट पनि कोरोना परीक्षण हुने भएको हो ।
अस्पतालमा पीसीआर ल्याब सञ्चालनको प्रक्रिया अघि बढाएको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्बोले शुक्रबार प्रदेशसभालाई जानकारी दिनुभयो । प्रदेशसमा पेश भएको अर्थ सम्बन्धि बिधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले प्रदेशमा थप २ हजार पीसीआर ल्याब सञ्चालन गर्ने सरकारको योजनाअनुरूप मेची अस्पतालमा काम अगाडि बढेको जानकारी दिनुभयो ।
अर्को ल्याब झापाकै दमकमा राख्नेबारेमा छलफल भइरहेको मन्त्री आङ्बोको भनाइ छ । झापाको मेची अस्पतालमा पीसीआर मेसिनसहितको ल्याब राख्न यसअघिदेखि नै सो क्षेत्रका सांसद र स्थानीय जनप्रतिनिधिले माग गर्दै आएका छन् । भद्रपुरमा ल्याब स्थापना भएमा साविकको मेची अञ्चलभरीका स्वाब संकलन र परीक्षणमा सहजता हुनेछ ।
प्रदेश १ सरकारलाई तिब्बत सरकारले दुई थान पीसीआर मेसिनसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ । त्यसमध्ये एउटा मेची अस्पतालमा स्थापना हुन लागेको हो । अर्को ल्याब पनि तत्काल स्थापना गरिने मन्त्री आङ्बोले जानकारी दिनुभयो । प्रदेश को बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगर स्थित कोसी अस्पताल र प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण ल्याब सञ्चालनमा छ ।
प्रदेश सरकारले प्रदेशभर दैनिक २ हजारसम्म नमुना परीक्षण गर्नसक्ने क्षमतामा ल्याब सञ्चालन गर्ने बताउँदै आएको छ । सरकारले कोरोनाबाट आफ्ना नागरिकलाई सुरक्षित राख्न र परीक्षणको दर बढाउन ५ स्थानमा ल्याब सञ्चालन गर्न लागेको मन्त्री आङ्बोले बताउनुभो ।
बिहीबारसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४२० पुगेको छ भने २२४ जना कोरोना ठीक भई डिस्चार्ज भएका छन् ।
यसैबीच शुक्रबारको प्रदेशसभा बैठकले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विद्येयक २०७७, सर्वसम्मतिले पारित गरेको छ । बैठकको शुन्य समयमा सांसद काजीमान कागते, सन्जाकुमारी दनुवारलगायतले बोल्नुभएको थियो ।

