विराटनगर । विराटनगरमा आमासँगै ८ महिनाको शिशुमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ । विराटनगर १३ की संक्रमित महिलाको ८ महिने छोरामा कोरोना पोजेटिभ देखिएको हो ।
केही दिनअघि भारतबाट आएर होम क्वारेन्टाइनमा बसेकी ३६ वर्षीय महिलामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । आमामा कोरोना संक्रमण ८ महिने छोराको स्वाब संकलन गरी परीक्षण गर्दा उनमा पनि संक्रमण देखिएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा छोरामा पनि कोरोना पोजेटिभ देखिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । दुबै जनालाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको छ ।
होम क्वारेन्टाइनमा बसेकी महिला र शिशुमा कोरोना देखिएपछि शुक्रबारबाट कन्ट्रयाक ट्रेसिङ गरिने महानगरले जनाएको छ । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ भने मोरङमा कोरोना संक्रमितको संख्या १०४ पुगेको छ ।
बिहीबार प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४२० पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । तीमध्ये २२४ जना कोरोना जितेर घर फर्किएका छन् । बिहीबार मात्रै मोरङको गोठगाउँबाट ४० जना कोरोना जितेर डिस्चार्ज भएका थिए ।