जोगबनी नाकाबाट आउनेभन्दा जाने धेरै

विराटनगर । विराटनगरसँग जोडिएको जोगबनीबाट नेपाल भित्रनभन्दा भारत जानेको संख्या धेरै रहेको पाइएको छ ।

लकडाउनको कारण अलपत्र परेका नेपाल तथा भारतका नागरिकहरु आफ्नो देश फर्कन थालेपछिको दुई सातामा यो नाकाबाट चार हजार बढि वारपार भएका छन् ।

भारतीय नागरिकहरू बिहार प्रवेश गरी भारतका अन्य सहरसम्म पुग्ने गरेका छन् । दुई सातामा भारतबाट १ हजार ७ सय २९ जना नेपाली आएका छन् भने नेपालबाट २ हजार ४ सय २४ जना भारतीय नागरिक भारत गएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार जेठ १३ देखि २७ गतेसम्म भारतबाट नेपाल आएका १ हजार ४ सय ७५ जना पुरूष र २ सय ५४ जना नेपाली महिला रहेका छन् । यस्तै नेपालबाट भारत जाने १ हजार ९ सय २० जना पुरूष र ५ सय ४ जना महिला छन् ।

सीमा सिल भई लामो समय बितेपछिको पछिल्लो दुई साताको तथ्यांकले जोगबनी भएर नेपाल आउनेभन्दा पनि भारत जानेको संख्या धरै देखिएको प्रहरीले जनाएको छ । प्रदेश १ सरकार, जिल्ला प्रशासन कार्यालय मोरङ र सुरक्षा निकायको समन्वयमा सीमासम्म आएका नेपालीलाई उद्धार गरी नेपाल ल्याएर उनीहरुको घर भएको स्थानीय तहमा पठाउने गरिएको छ । यस्तै नेपालमा अलपत्र परेका र देश फर्कन चाहने भारतीयलाई पनि भरतका सुरक्षा निकाय तथा प्रशासनसँगको समन्वयमा पठाउने गरिएको छ ।

भारतका विभिन्न ठाउँबाट जोगबनी सीमासम्म आएका नेपालीहरूलाई नेपाल प्रहरीले समन्वय गरी नेपाल प्रवेश गराएको छ । नेपालतर्फ ल्याइने मानिसहरूलाई होल्डिङ सेन्टरमा राखी सम्बन्धित पालिकातर्फ पठाइने गरिएको छ ।

जोगवनीसहित मोरङको विभिन्न क्षेत्रबाट भारतबाट नेपाल प्रवेश गरेका १ हजार २ सय ६२ जनालाई जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा राखिएको छ ।

बुधबार, २८ जेठ, २०७७, साँझको ०७:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर