लकडाउनको स्वरुप फेरेर सबै काम अगाडि बढाउनुपर्छः मुख्यमन्त्री राई

serdhan

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जारी लकडाउनको स्वरुप परिवर्तन गरेर सबै कामलाई सुचारु गर्नुपर्ने बताउनुभएको छ ।

प्रदेशसभाको बुधबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री राईले लकडाउनबाट रोकिएका सबै कामकाज अगाडि बढाउनुपर्ने बताउनुभएको हो ।

कोरोनाको महामारी र लकडाउन आजकै अवस्थामा जारी रहन नसक्ने बताउँदै मुख्यमन्त्री राईले भौतिक दुरी र सुरक्षा सतर्कता अपनाएर सबै काम सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो । लकडाउनको स्वरुप बदलिने भएकोले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या नहुने उहाँको दावी छ ।

सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारको क्षेत्रमा योजनाबद्ध र प्रभाबकारी काम गरिरहेको बताउँदै मुख्यमन्त्री राईले अन्य प्रदेशसभन्दा व्यवस्थित काम भइरहेको बताउनुभयो । कोरोना आजको प्रमुख चुनौति भएको बताउँदै उहाँले यसमा सरकार कुनै अलमलमा नपरी र नअत्तालिई एक्सन प्लानको साथ काम गरिरहेको दावी गर्नुभयो ।

कोरोना संक्रमितको उचारको लागि कोभिड अस्पताल बनाएको, परीक्षणको दायरा विस्तार गरिएको भन्दै मुख्यमन्त्री राईले अन्य प्रदेशभन्दा धेरै १३ हजार बढीको पिसिआर परीक्षण भएको दावी गर्नुभयो । पिसिआर परीक्षण ५० हजार पुर्याउने उहाँको भनाइ थियो ।

प्रदेश राजधानीका नयाँ संरचना आगामी वर्षबाट निर्माण सुरु गर्ने बताउँदै मुख्यमन्त्री राईले नामांकनको विषय भने राजनीतिक दलहरूसँगको सहकार्य र छलफलबाट टुंग्याइने बताउनुभयो । राजधानीका संरचनाको डिजाइन तयार गर्ने काम भइरहेको उल्लेख गर्नुभयो ।

नामांकनको विषय नितान्त प्रदेशसभाको क्षेत्राधिकारभित्रको विषय भएको उल्लेख गर्दै मुख्यमन्त्री राईले यो विषय पनि दलहरुको सहमतिमा छिट्टै नै प्रदेशसभामा प्रवेश गर्नुपर्नेमा जोड दिनुभयो । यो विषय सरकार एक्लेलै पार लगाउने विषय नभएकोले छलफल र सहमति गरी आधारबिन्दु तय गर्नु पर्ने उहाँको भनाइ छ ।

बुधबार, २८ जेठ, २०७७, साँझको ०५:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर