विराटनगर । प्रदेश १ ससरकारले गत शुक्रबार प्रदेशसभामा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार पारित भएको छ ।
प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले पेश गर्नुभएको आर्थिक बर्ष २०७७–२०७८ को नीति तथा कार्यक्रम बुधबारको प्रदेशसभा बैठकले पारित गरेको हो ।
नीति तथा कार्यक्रममाथिको छलफलमा ५२ जना सांसदहरुले भाग लिएका थिए । त्यसमाथि नेपाली काँग्रेस र संघीय समाजवादी पार्टीले संशोधन दर्ता गरेकोमा समाजवादीका जयराम यादवले संशोधन फिर्ता लिनुभएको थियो भने काँँग्रेसको संशोधन अस्वीकृत भएको थियो ।
काँग्रेसका सांसद केदार कार्की र शेखरचन्द्र थापाले दर्ता गराएको संशोधनका कतिपय विषय भने सरकारले स्वीकार गरेको थियो । बैठकमा सांसदहरुले उठाएका प्रश्नबारे जवाफ दिने क्रममा मुख्य मन्त्री शेरधन राईले सम्बोधन गरेपछि समाजवादी दलका नेता भने आफ्नो संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो ।
सांसद यादवले निती कार्यक्रमको प्रस्तावनामा संघीयता प्राप्तीका लागि भएको मधेशी र आदिवासी जनजाति आन्दोलनलाई समावेश नगरेको दर्ता गरेको संशोधन मुख्यमन्त्रीले स्वीकार गर्नुभएको थियो । यस्तै नीति तथा कार्यक्रममा सभामुखलाई सम्बोधन गर्नुपर्नेमा प्रदेशसभा सदस्यलाई सम्बोधन भएको भन्दै काँग्रेसले हालेको संशोधन पनि मुख्यमन्त्रीले स्वीकार गर्नुभयो ।
मंगलबारे अस्पतालको नाम परिवर्तनसहितका विषय सरकारले सम्बोधन नगरेको भन्दै काँग्रेसले संशोधन फिर्ता लिएन । मोरङको मंगलबारे स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई मदन भण्डारीको योगदानको कदर गर्दै नाम फेरिएको मुख्यमन्त्रीले बताएपनि काँग्रेसले चित्त बुझाएको थिएन ।