विराटनगर । राष्ट्रिय युवा संघ, नेपालले राष्ट्रहित विपरित अभिव्यक्ति दिने संघीय संसद सदस्य तथा जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीलाई कानूनी कारवाही अघि बढाउन माग गरेको छ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल संघले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हित विपरित र नेपालको भूमि भारतकै भएको जिकिरसहित अभिव्यक्ति दिएकाले कारबाही गर्न माग गरेको हो ।
गिरीलाई कार्वाही गर्न संघीय संसद सचिवालय र जनता समाजवादी पार्टीलाई संघले आग्रह गरेको हो। संविधानको धारा ५ बमोजिम नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हीतको आधारभूत विषय भएको र धारा ४८ ले संविधानको पालना गर्ने कर्तव्य समेत तोकिदिएको तथ्य संघले गिरीलाई स्मरण गराएको छ ।
संविधानको संरक्षण र पालना गर्ने सपथ खाएको सांसदले नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्ट्रिय एकताको विरुद्धमा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपाली जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयम्ले च्युत गरेको संघले जनाएको छ । सांसद गिरीको अंसवैधानिक, राष्ट्रहित प्रतिकुल एवम देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति र राष्ट्रहित विपरितको हर्कतको राष्ट्रिय युवा संघ नेपालले भर्त्सना गरेको छ।
गैरजिम्मेवार व्यक्तिलाई संसद सदस्यबाट अविलम्व फिर्ता बोलाउन जनता समाजवादी पार्टीलाई आग्रह गर्दै युवा संघले आवश्यक कानूनी कारवाही अघि नबढाए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् सरिता गिरी र सम्बन्धित दल हुने चेतावनी दिएको छ। युवा संघले भनेको छ, ‘यस्तो गैर आचरण र कार्य गर्ने निजलाई कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’
गिरीले एक टेलिभिजन अन्तरवार्तामा लिम्पियाधुरा नेपालको भाग हो भनेर आफूले स्विकार नगर्ने बताएकी थिइन्। उनले नेपालले भारतसँग वार्ता नगरिकन नक्सा जारी गर्न नहुने बताउँदै आएकी छन्।