विराटनगर । मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत झापाको काँकडभिट्टादेखि इनरुवा खण्ड निर्माणको प्रक्रिया सुरु भएको छ ।
काँकडभिट्टादेखि इनरुवासम्मको १ सय ६ किलोमिटर लामो रेलमार्गका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले जेठ २४ गते सूचना प्रकाशित गरी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको हो । रेलमार्ग निर्माणका लागि झापामा झापामा ३ सय ३ बिघा, मोरङमा २ सय ३० बिघा र सुनसरीमा १ सय ४० बिघा १८ कठ्ठा जमिन अधिग्रहण गर्ने तयारी छ ।
रेल, मेट्रो रेल र मोनो रेल विकास आयोजनाका इन्जिनियर विनोद ओझाका अनुसार रेलमार्गका लागि अधिग्रहण गरिने जग्गाका धनीलाई मुआब्जा वितरणको प्रक्रिया सुरु भएको छ । झापासहितका तीनवटै जिल्ला प्रशासन कार्यालय र पालिकाहरुमा हकदाबीका गर्न विभागले सूचना प्रकाशित गरेको उहाँको भनाइ छ ।
रेल विभागले रेलमार्गभित्र पर्ने जग्गामा बनेका घरटहरा, गोठ, पर्खाल वा रुख–बिरुवा, बोरिङ आदिसमेत खुलाई आवेदन दिन सूचनामा अनुरोध गरेको छ । सम्बन्धित जग्गा धनीहरुले जिल्ला प्रशासन र पालिकाहरुमा निवेदन दिनेछन् । निवेदन संकलनपछि जिल्ला र पालिकाहरुमा गठित उपसमितिले मुआब्जा निर्धारण गर्ने तयारी छ ।
रेलमार्ग निर्माणका लागि १० देखि १२ मिटरको बाँध पनि बनाइने छ। उक्त मार्गमा कुद्ने रेलका लागि बिजुली व्यवस्थापन गर्न १३२ केभी प्रसारण लाइन पनि निर्माण गरिने डिपिआरमा उल्लेख छ।
रेलमार्ग निर्माण गर्दा ६ सय ६६ वटा भौतिक संरचना प्रभावित हुनेछन्। चारदेखि पाँच वर्षभित्रमा सम्पन्न गर्ने गरी निर्माण हुने आयोजनामा दुई हजार पाँच सय ९३ दक्ष र २५ हजार नौ सय २० जना अदक्ष कामदारले रोजगारीसमेत पाउनेछन्।
रेलवे निर्माण गर्दा ९० अर्ब २ करोड ८२ लाख ८६ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । २०० किलोमिटर प्रतिघण्टाको रेलवे इनरुवा बजारको जनता चोक नजिकैबाट सुरू भई पूर्व–पश्चिम राजमार्गको करिब दुई किलोमिटर दक्षिण हुँदै काँकडभिट्टासम्म पुग्ने बताइएको छ।
इनरुवादेखि काँकडभिट्टासम्म १० वटा स्टेशन निर्माण हुनेछन् । रेलवेले सुनसरीको भोक्राहा गाउँपालिकाका ५ र ७ नम्बर वडा, इनरुवाको २,४,५,७ र ९ वडा र इटहरीको ७,१० ११,१२,१४,१५ र १६ वडालाई छुनेछ। यस्तै रेलमार्गले सुन्दरहरैंचा, बेलबारी, पथरी शनिश्चरे, उर्लाबारी नगरपालिका र कानेपोखरी गाउँपालिकालाई छुनेछ।
रेल्वेले झापाका दमक नगरपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, कन्काई नगरपालिका, विर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकालाई छुनेछ। त्योसँगै विराटनगर– इटहरी रेलवे निर्माणको प्रक्रिया पनि अगाडि बढेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।