विराटनगर । प्रदेश नंं. १ मा सोमबार थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका २० सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ सय ७७ पुगेको छ ।
सोमबार मोरङमा ९, झापाका १० र सुनसरीमा १ जनामा संक्रमण देखिएको हो । मोरङको लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा २–२ जना र धनपालथान गाउँपालिकामा एक महिलासहित ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
झापाको मेचीनगर नगरपालिकामा १, हल्दीबारी गाउँपालिकामा २, गौरीगञ्ज गाउँपालिकामा ७ जना र सुनसरीको कोसी गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ का संक्रमितहरूको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज गोठगाउँमा उपचार भइरहेको छ ।
प्रदेशमा संक्रमित देखिएकामध्ये ९० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।