विराटनगर । कोरोना संक्रमित भई अस्पतालमा उपचाररत विरामीलाई २ पटक पिसिआर परीक्षणमा नेगेटिभ आएपछि मात्र डिस्चार्ज गर्ने गरिएकोमा स्वास्थ्य मन्त्रालयले अब परीक्षण नगरी घर पठाउन अस्पतालहरुलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भई अस्पताल भर्ना भएका संक्रमितहरूलाई परीक्षण नगरी डिस्चार्ज गर्न देशभरका कोरोना संक्रमितको उपचार गर्ने सबै अस्पताललाई पत्राचार गरेको हो ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई, स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा.गुणराज लोहनीले अस्पतालमा भर्ना भएका संक्रमितलाई परीक्षण नगरी डिस्चार्ज गर्न निर्देशन दिनुभएको हो । लक्षण भएका संक्रमितलाई लक्षण देखिन छोडेको तीन ३ दिनभित्र र लक्षण नभएकालाई भर्ना भएको १४ दिनभित्र डिस्चार्ज गर्न निर्देशनसहित लोहनीको हस्ताक्षरमा पत्राचार भएको छ ।
जेठ २० गते जारी भएको ‘नेशनल टेस्टिङ गाइनलाइड फर कोभिड १९’ अनुसार सो निर्देशन दिइएको पत्रमा उल्लेख छ । अहिलेसम्म कोरोना संक्रमित भई अस्पताल भर्ना भएका सबैको २ पटक पिसिआर नेगेटिभ आएपछि मात्र डिस्चार्ज हुँदै आएकोमा अब विनापरीक्षण संक्रमितहरु घर जानेछन् ।
नेपालमा अधिकांश कोरोना संक्रमितमा लक्षण नभएको र डेढ महिनाभन्दा बढि समय कोरोना सक्रिय रहेको देखिएकोमा लक्षण नदेखिएपछि र १४ दिनमा डिस्चार्ज गर्दा समुदायमा कोरोना संक्रमण फैलने त्रास बढेको छ । संक्रमितलाई परीक्षण नगरी संक्रमणमुक्त भए नभएको निर्क्योल नहुने भएकोले यसरी डिस्चार्ज गर्दा घरपरिवार र समुदायमा संक्रमण फैलने खतरा देखिएको छ ।
एकपछि अर्को विवादमा फस्दै आएको स्वास्थ्य मन्त्रालयको यो निर्णयले कोरोना नियन्त्रणको प्रयासमै असर पर्ने विज्ञहरुले बताएका छन् । मन्त्रालयको यस्तो निर्णयले जनतालाई थप त्रास र द्विविधामा पारेको छ। पिसिआर परीक्षणलाई व्यापक बनाउनुपर्नेमा विज्ञहरुले जोड दिइहरेको बेला मन्त्रालयले परीक्षण कम गर्ने नीति लिनुले खतरनाक अवस्था आउनसक्ने चेतावनी विज्ञहरुले दिन थालेका छन् ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।