नेपालमै निर्मित कोरोना विरुद्धको खोप परीक्षण हुने

काठमाडौं । नेपालमै कोरोना भाइरसविरुद्धको खोपको परीक्षण प्रक्रिया सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डा. ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत औषधिको परीक्षण प्रक्रिया सुरु गर्नुभएको हो ।

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्रीको संयोजनमा औषधिको औपचारिक तथा कानूनी परीक्षणको प्रक्रिया प्रारम्भ गरेको डा.दासले बताउनुभयो । औषधिका सम्बन्धमा मन्त्री युवराज दुलालले शुक्रबार प्रदेशका विज्ञ तथा देशका प्रतिष्ठित वैज्ञानिकसँग छलफल गरेपछि परीक्षण प्रारम्भ गर्ने निर्णय भएको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मार्फत औषधिको परीक्षण हुने र त्यसमा डाक्टर दासलाई प्रदेश सरकारको साथ रहने मन्त्री दुलालले बताउनुभयो । आफूले तयार पारेको औषधिले कोरोना भाइरसविरुद्ध पूर्णरुपमा काम गर्ने जिकिर गर्ने डा.दासले निदान गर्ने समूह र सङ्क्रमण हुन नदिने समूह गरी दुई भागमा ९ प्रकारका औषधि तयार पारेको बताउनुभएको छ ।

विभिन्न ६ प्रकारका औषधिलाई सङ्क्रमण लाग्न नदिन सुईका रुपमा प्रयोग गर्न सकिने तथा तीन प्रकारका औषधिलाई सङ्क्रमणपछि उपचारका लागि प्रयोग गर्न सकिने दासको भनाइ छ । आफूले कोरोना भाइरसको बनावट त्यसका रसायनिक तथा अन्य गुणको अध्ययन गरेर १५ प्रकारका वनस्पतिमार्फत त्यसलाई नष्ट गर्ने औषधि तयार पारेको उहाँको दावी छ ।

डा.दासले उक्त औषधिले कोरोना भाइरसको पहिलो पत्रमा हुने बोसो तथा प्रोटिनलाई समेत टुक्र्याउने र भाइरसलाई निष्क्रिय बनाउने बताउनुभयो। द्रुत सङ्क्रमक भाइरस भएकाले भाइरसलाई ल्याबमा ल्याएर परीक्षण नगरेको तर अन्य वैज्ञानिक परीक्षण गरेको उहाँको भनाइ छ । औषधिको प्रयोगबाट कुनै पनि प्रकारको ‘रियाक्सन’ नहुने उहाँले बताउनुभयो ।

डाक्टर दासलाई विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले कोरोनाविरुद्ध तयार पारेको औषधिलाई सुईमार्फत दिइने मात्र नबनाएर खाने झोल सिरपका रुपमा समेत उत्पादन गर्न सुझाव दिएको छ। भिडियो कन्फेरेन्समार्फत कुराकानी गरेपछि स्वास्थ्य सङ्गठनले इमेलमार्फत उक्त सुझाव दिएको डाक्टर दासले जानकारी दिनुभयो ।

डाक्टर दासका सहयोगी अनुसान्धानकर्ता तथा संस्थानका प्राध्यापक वनस्पतिशास्त्री दामोदर गैरेका अनुसार डब्लुएचओले सुईमार्फत औषधि दिँदा कतिपयलाई एलर्जी हुनसक्ने भएकाले खाने झोलका रुपमा तयार पार्न अनुरोध गरेको बताउनुभयो । डब्लुएचओले औषधिको कम्पोजिसनका बारेमा थाहा पाएपछि सकारात्मक प्रतिक्रिया दिएको उहाँको भनाइ छ।

‘डब्लुएचओले हामीलाई आवश्यक परे कति परिमाणमा औषधि तयार पार्न सक्छौँ भनेरसमेत सोधेको छ’ गैरेले भन्नुभयो । वनारस विश्वविद्यालयबाट रसायन शास्त्रमा विद्यावारिधि गरेका डाक्टर दास त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान, हेटौँडाका प्राध्यापक हुन् ।

शुक्रबार, २३ जेठ, २०७७, रातीको १०:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर