रूकुम । अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा पश्चिम रुकुमको मुसिकोट नगरपालिका–१३ का वडाध्यक्ष पक्राउ परेका छन् ।

मुसिकोट १४ छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले वडाध्यक्ष दीपक केसीलाई पक्राउ गरेको हो ।

केसीसहित थप दुई युवासमेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजन केसी र खिलराज गिरी रहेको प्रहरीले जनाएको छ । मङ्गलबार राति वडाध्यक्ष केसी नेतृत्वको टोलीले प्रहरी चौकीमा तोडफोड गरी क्षति पुर्याएको थियो ।

प्रहरीले घटनापछि फरार वडाध्यक्ष र दुई युवालाई मुसिकोट १३ को टोड्के भन्ने ठाउँबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका तीनै जनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिनुभयो ।

घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । सवारी जाँचका लागि सडकमा राखिएको डाँट खोल्न ढिला गरेको भन्दै वडाध्यक्ष केसीले प्रहरीसँग झगडा शुरु गरेको र त्यसपछि स्थानीय २०–२५ जनाको समूहले प्रहरी चौकीमा तोडफोड गरेको अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर साउदले बताउनुभयो ।

नागरिकको सुरक्षाका लागि स्थापना गरिएको प्रहरी चौकीमा वडाध्यक्षकै नेतृत्वमा रहेको टोलीले तोडफोड गरी सवारी जाँचका लागि राखिएका सम्पूर्ण सामग्री, प्रहरी चौकी अगाडि लगाइएको काठको बार र कुर्सीलगायत सामग्रीमा क्षति पुर्याएको थियो । (रासस)