विराटनगर । विराटनगरमा बिहीबारबाट लकडाउन खुकुलो बनाइने भएको छ ।
बिहीबारबाट दिउँसो १२ बजेसम्म बजार सर्तसहित खुला गर्ने निर्णय भएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।
जिल्लास्तरीय कोरोना जोखिम व्यवस्थापन समितिको बैठकले दिउँसो १२ बजेसम्म बजार पसल खोल्ने निर्णय गरेको हो । बजार पसल खुल्ला गर्ने निर्णय भएपनि होटल, रेस्टुरेन्ट, व्यूटीपार्लर र सैलुन तत्काल खुल्ने छैनन् ।
सुरक्षासहितको सतर्कता अपनाएर बजार खोल्ने निर्णय भएको जानकारी दिँदै पराजुलीले त्यसो नभएको देखिए बन्द गरिने बताउनुभाये । मंगलबार मात्र सुरक्षा समितिले बैंक तथा वित्तीय संस्थालाई दिनभरी सञ्चालन गर्ने निर्णय गरेको थियो ।
संक्रमणको जोखिमबीच निजी क्षेत्रले बजार खोल्न दबाव दिएपछि दिउँसो १२ बजेसम्म खुला गर्ने निर्णय भएको हो । संक्रमण देखिएमा जिल्लास्तरीय समितिको बैठक बसेर आवश्यक निर्णय गरिने महानगरको भनाइ छ ।
मोरङमा अहिलेसम्म ७ जनामा कोरोना संक्रमण देखिएको छन् । उनीहरुमध्ये तीनजना विराटनगरका हुन् ।