नेपालमै कोरोनाको खोप तयार भएको दावी

हेटौँडा । विश्वभर कोरोना भाइरस विरुद्धको खोपको अनुसन्धानमा शक्तिराष्ट्रबीच प्रतिष्पर्धा चलिरहेको बेला हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोना भाइरस विरुद्धको खोप तयार भएको दावी गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत कलेजका प्रा.डा.ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि खोप तयार गरेको दावी गर्नुभएको छ ।

वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष डा.दासले यसअघि हर्बल सेनिटाइजर बनाउनुभएको थियो । सीमित स्रोतसाधन भएपनि अत्यन्त सूक्ष्मतापूर्व अध्ययन र अनुसन्धानबाट खोप पूर्णरुपमा तयार भएको जिकिर गर्दै डा.दासले यसलाई परीक्षण प्रक्रियामा लगिने जानकारी दिनुभयो ।

एक हप्ता अगाडि वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रयोगशालाको निरीक्षण गर्दै खोप निर्माण हुनेबित्तिकै परीक्षण गराइने आश्वासन दिनुभएको थियो । वनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा बिएचडी गरेका डा.दासका अनुसार उक्त औषधि विभिन्न स्वास्थ्यबद्र्धक जडिबुटीबाट निर्माण गरिएको हो ।

केही एन्टी अक्सिडेन्ट एक्टिभिटी र इञ्जिमेटिक एक्सन भएको वनस्पति लिएर कोरोना भाइरसविरुद्धको खोप अनुसन्धान गरिएको हो । ‘कोरोना भ्याक्सिन’को गुणस्तर र प्रयोगका लागि पहल गर्न सो कलेजका प्रमुख विजय यादवले सबैसँग आग्रह गर्नुभएको छ ।

कलेजका प्रा.दामोदर गैरेले पनि डा. दासले रोग नियन्त्रणमा कोरोनाविरुद्ध खोप सहयोगी हुने विचार व्यक्त गर्नुभयो । यसको छिटो परीक्षण गर्नुपर्नेसमेत उहाँको आग्रह छ । (रासस)

आइतबार, १८ जेठ, २०७७, रातीको ०८:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर