विराटनगर । कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुई जनाको मृत्यु भएको पुष्टि गरेसँगै मृतकको संख्या ८ जना पुगेको हो ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा. विकास देवकोटाले बाजुराकी २ वर्षीया बालिकामा कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिनुभयो । बालिकाको आइतबार बिहान मृत्यु भएको थियो ।
यसैगरी शनिबार दैलेखको दुल्लु नगरपालिका ११ का ३५ वर्षे पुरुषको मृत्यु पनि कोरोनाकै कारण भएको मन्त्रालयले पुष्टि गरेको छ ।
आठ दिनअघि भारतबाट परिवारसहित आएको र बिरामी बालिकाको आइसोलेसनमा राखेर उपचार गरिदै आएको थियो । यसअघि सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।