सदनमा प्रमुख सचेतक कार्कीको प्रश्न

बजेट बनाउने बेला किन उपसचिव हटाएर जगेडामा राखियो ?

विराटनगर । बजेट निर्माणको अन्तिम समयमा आर्थिक मामिला तथा योजना मन्त्रालयबाट उपसचिवलाई सरुवा गरेर जगेडामा राखेको विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेंसले सरकारमाथि प्रश्न उठाएको छ । प्रदेशसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै काग्रेंसका प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्री र अर्थमन्त्रीकोे मिलेमतोमा उपसचिवलाई सरुवा गरेर जगेडामा राखेको आरोप लगाउनुभयो ।

प्रमुख सचेतक केदार कार्कीले कामको बेलामा उपसचिवलाई सरुवा गर्नुको कारण मागसमेत गर्नुभएको छ । उहाँले सरकारका मन्त्रीहरुले जथाभावी मागेका योजनाका फाइलहरु सदर नगरेकै कारण उपसचिवलाई कामबिहीन बनाएर मुख्यमन्त्रीको कर्यालयमा तानेको आरोप लगाउनुभएहो हो ।

झण्डै दुई साता अघि मन्त्रालयका उपसचिव हरिहर पौडेललाई आर्थिक मामिला तथा योजना मन्त्रालयबाट सरुवा गरी मुख्यमन्त्री कार्यालयमा जगेडामा राखिएको थियो । मन्त्रालयमा बजेट महाशाखाको जिम्मेवारी निर्वाह गर्दै आउनुभएका पौडेल बजेट निर्माणमा पारंगत र अनुभवी अधिकृतको रुपमा चिनिनुहुन्छ ।

बैठकमा बोल्दै प्रमुख सचेतक कार्कीले भन्नुभयो ‘सरकारले बजेट निर्माण गर्ने बेलामा, त्यसमाथि संकटको समयमा आर्थिक मामिला मन्त्रालयबाट उपसचिवलाई मुख्य मन्त्रीले आफनो मन्त्रालयमा तानेर जगेडामा राख्नुको कारण कारण के हो सदनलाई स्पष्ट पार्नुपर्छ ।’ उहाँले पूर्वाधार विकास मन्त्रालयका रितनपुगेका फाइलहरु पास नगरिदिएको कारणले उपसचिव हरिहर पौडेललाई सरुवा गरेको भन्दै सदनलाई यथार्थ जानकारी गराउन माग गर्नुभएको छ ।

प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा दरबन्दी भएका पौडेललाई यस अघि नै सरुवा गरिएको थियो । वृत्ति विकासमा प्रभाव पार्ने गरी दरबन्दी मिलान भएको र सरुवा गरेको भन्दै उहाँले सर्वोच्चमा दिएको रिटमाथि सुनुवाई गर्दै अन्तिम फैसला नहुँदासम्म यथास्थानमा रहेर काम गर्नु भनि अदालतले आदेश थिएको थियो । प्रदेश सरकारले सर्वोच्चको आदेश विपरित पौडेललाई सरुवा गरेर जगेडामा राखेको हो । उपसचिव पौडेलका लागि मिल्ने दरबन्दी प्रदेशमा अन्य कुनैपनि मन्त्रालयमा छैन ।

विशेष समयमा बोल्दै प्रमुख सचेतक कार्कीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्रभावकारी व्यवस्थापन गर्न नसकेको, जनसुरक्षा कोषको रकम दुरुपयोग गरेको, सञ्चार गृहहरुलाई फाइदा हुनेगरी ठूलो रकम विज्ञापनमा खर्च गरेको तर श्रमजीवि पत्रकारहरुको हितमा प्रयोग नगरेको जस्ता आरोप लगाउँदै संसदीय समिति मार्फत छानविन गर्नुपर्ने माग पनि गर्नुभएको छ । उहाँले प्रदेशमा सञ्चालन गरिएका क्वारेन्टाइनहरु कोरोना भाइरस फैलाउने यन्त्रजस्ता देखिएको भन्दै आलोचना गर्नुभयो । महामारीको विरुद्धमा सबैको साथ लिएर आपसमा सहकार्य गरेर लड्नुपर्नेमा मुख्यमन्त्री एक्लैले ठूलो भारी बोक्न खोजेको भन्दै उहाँले प्रदेश सरकारको आलोचना गर्नुभएको छ ।

आइतबारको बैठकमा प्रदेश वन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथि छलफल भएको थियो । बैठकको सुन्य समयमा अधिकांश सांसदहरुले कोरोना रोकथाम र त्यसका लागि गरिएको तयारीको विषयमा बोल्नुभएको थियो । केहीले फौजी किराले मकैबालीमा ठूलो नोक्सानी गरेको र बर्खे धानबालीमा पनि फौजिकिराको प्रकोप रहनसक्ने भएकोले समयमै ध्यान दिन आग्रह गर्नुभएको थियो ।

बैठकमा उपेन्द्रप्रसाद घिमिरे, नवोदिता चौधरी, पूर्णप्रसाद राई, सावित्रा रेग्मी, सावित्री जोशी, सुनिता चौधरी लगायतले बोल्नुभयो । प्रदेशसभाको अर्को बैठक जेठ १९ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।

आइतबार, १८ जेठ, २०७७, साँझको ०५:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर