नेपालमा कोरोनाः अस्पतालमा लक्षणविहिन संक्रमित, लक्षण भएका अस्पताल पुग्न पाएनन्

कोरोनाबाट मृत्यु भएका ७ जनामध्ये ६ जनाको मृत्युपछि मात्र संक्रमण पुष्टि

विराटनगर । नेपालमा १४ सय बढिमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा ७ जनाको ज्यान गएको छ ।

कोरोना संक्रमितलाई ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने, छाती दुख्ने, सुख्खा खोकी लाग्ने जस्ता लक्षण देखिने विश्व स्वास्थ्य संगठनले बताएको भएपनि नेपालमा पहिचान भएका अधिकांश संक्रमितमा कुनै लक्षण छैन । संक्रमित पुष्टि भएपछि अस्पतालमा भर्ना गर्ने गरिएको भएपनि उनीहरु कुनै औषधि सेवन नगरी निको भएर फर्कने गरेका छन् ।

चैत ११ गतेबाट संक्रमण फैलन नदिन लकडाउन गरेको सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथाममा प्रभाबकारी काम गरेको र कसैको पनि मृत्यु हुन नदिने दावी गरेको थियो । तर, यसबीचमा ७ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि धेरैले अस्पताल नै पुग्न पाएनन् । उनीहरुमा कोरोना भएको पनि मृत्युपछि मात्र पुष्टि भयो ।

माघ महिनामा नेपालमा पहिलो पटक कोरोना संक्रमण देखिएकोमा जेठ १ गते पहिलो मृत्यु भएको थियो । जेठको तीन साता नपुग्दै ७ जनाको मृत्यु भएको छ । शनिबार मात्रै कर्णाली प्रदेशको दैलेखमा कोरोनाको कारण सातौं व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । दुल्लु नगरपालिकास्थित क्वारेन्टाइनमा मृत्यु भएका युवाको मृत्युपछि नै कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो । विरामी उनले अस्पताल पुग्न नपाई ज्यान गुमाए ।

सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीय महिलाको जेठ १ गते मृत्यु भएपछि कोरोनाबाट कसैको ज्यान जान न दिने सरकारी घोषणा असफल बनेको थियो । ती महिलामा मृत्यु भएको तीन दिनपछि मात्र कोरोना संक्रमण रहेको पुष्टि सरकारले गरेको थियो ।

त्यसपछि जेठ ४ गते प्रदेश ५ को बाँकेमा कोरोना संक्रमणका कारण दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि भयो । नरैनापुर गाउँपालिकाको एक क्वारेन्टाइनमा रहेका व्यक्तिको क्वारेन्टाइनमा नै मृत्यु भएपछि मात्रै कोरोना संक्रमण रहेको पुष्टि भयो।

नेपालमा कोरोना संक्रमण देखिएपछि उपचार पाएर पनि मृत्यु हुने गुल्मीका शिक्षक मात्र हुन् । स्वास्थ्यमा समस्यष देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको बेला मात्र उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा जेठ ८ गते उनको मृत्यु भयो ।

कोरोनाका कारण चौथो मृत्यु प्रदेश बाराको कलैया उपमहानगरपालिका वडा ७ का ७० ववर्षीया बृद्धाको भयो । उनको मृत्यु जेठ ४ गते भएपछि परिवारले अन्तिम संस्कार गरिसकेपछि जेठ १२ गते मात्रै उनमा संक्रमण पुष्टि भएको थियो।

जेठ १४ ललितपुरमा कोभिड १९ को संक्रमणबाट किस्ट अस्पतालमा उपचाररत् ५७ वर्षे पुरुषको मृत्यु भएको थियो। उनलाई जेठ ११ गते ललितपुरको किस्ट अस्पतालमा भर्ना गरिएकोमा मृत्यु भएपछि मात्रै उनमा कोरोना भएको पुष्टि सरकारले गरेको थियो ।

जेठ १६ गते अर्घाखाँचीका एक युवाको भारतमै मृत्यु भएर शव नेपालमा ल्याएकोमा सरकारले छैटौं मृत्यु घोषणा गर्यो । भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमापारी मृत्यु भएका भूमिकास्थान नगरपालिका ९ का ३५ वर्षे युवकको पनि मृत्युपछि कोरोना पुष्टि भएको हो ।

आइतबार, १८ जेठ, २०७७, बिहानको १०:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर