निशान छाप परिवर्तनका लागि आज संविधान संशोधन विधेयक संसदमा पेस हुँदै

राजपा नेपालले संविधान संशोधन सम्बन्धी अर्को विधेयक ल्याउने/ विधेयकको विरोध गर्ने पक्षमा नरहेको समाजवादीको भनाइ

विराटनगर । नेपालको कालापानी, लिपुलेख र लिम्पियाधुरासहितको नयाँ नक्सा सरकारले जारी गरेसँगै संविधानमा उल्लेखित निशान छापमा पनि सोही नक्सा समेट्ने उद्देश्यल आज नयाँ नक्सा संशोधन सम्बन्धी विधेयक संसदमा पेस हुँने भएको छ ।

नयाँ नक्सासम्बन्धी संविधान संशोधनको पक्षमा नेपाली कांग्रेसले मतदान गर्ने हिंजै निर्णय गरिसकेको छ । कांग्रेसका प्रतिनिधिसभामा ६३ जना सांसद छन्। नेकपाका सांसद र कांग्रेसका सांसदले संविधान संशोधनमा मतदान गर्ने बताएसँगै सरकारलाई अब आवश्यक पर्ने दुई तिहाइ मत पुग्ने देखिएको छ।

यसअघि पनि सरकारले संविधान संशोधनका लागि संसदको कार्यसूचिमा राखिएको भएपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रिय समितिबाट संशोधनको पक्षमा निर्णय गर्ने बताएपछि संशोधनलाई कार्यसूचिबाट हटाइएको थियो।

सरकारले यसअघि नै लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको अद्यावधिक नक्सा जारी गरिसकेको छ। संसदमा पेस भएलगत्तै संशोधन विधयेक सार्वजनिक जानकारीका लागि राजपत्रमा प्रकाशित हुनेछ ।

यता, कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले विधेयक ल्याएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले भने संविधान संशोधन सम्बन्धी अर्को विधेयक ल्याउने तयारी गरेको छ । राजपाले नक्सा सम्बन्धी विषय संशोधन गर्दा आफूहरुको मागलाई समेत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटक नक्सासम्बन्धी विषयमा मात्रै संविधान संशोधन गर्ने र बाँकी विषयमा छलफल गर्दै गरौंला भनेपछि राजपा नेपालले आफ्ना मागहरुलाई उल्लेख गरेर संविधान संशोधन सम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्न खोजेको हो । राजपाले आफ्नो संविधान संशोधन प्रस्तावमा प्रदेशको संख्या तथा सिमांकन हेरफेर गर्नुपर्ने, त्यसका लागि सिफारिस गर्न संघीय आयोग बनाउने, प्रदेशसभामा प्रदेशको प्रतिनिधित्व हेरफेर गर्ने लगायतका विषयलाई समावेश गरेको जनाएको छ ।

उता, पार्टी एक भइसकेको भएपनि राजपाले आफूहरुलाई नसोधी संविधान संशोधन विधेयक लगेको समाजवादीले आरोप लगाएको छ । सरकारले ल्याएको विधेयकमा विरोध गर्ने पक्षमा आफूहरु नरहेको समाजवादीका नेताहरुले बताएका छन् ।

आइतबार, १८ जेठ, २०७७, बिहानको ०९:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर