विराटनगर । झापाको केचनाबाट पठाइएका २७ जना कोरोना संक्रमितलाई बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले भर्ना नलिएपछि उनीहरु रातभर गाडीमै बसेका छन् ।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि एक यात्रुबसमा झापाबाट पठाईएका संक्रमितलाई बेड तयार नभएको भन्दै प्रतिष्ठानले शनिबार विहानसम्म भर्ना लिएको छैन ।

राति ११ बजे प्रतिष्ठान पुगेका संक्रमितलाई प्रतिष्ठानको पार्किङ एरियामा गाडीभित्र नै राखिएको छ । संक्रमितहरुले रातभर केही खान पनि पाएनन् ।

संक्रमितहरु रातभर आफू आएको बसमै र अस्पतालको ढोकामै बसेका छन् । प्रतिष्ठानमा सय बेडको कोभिड अस्पताल तयार भएको बताइएको थियो । प्रतिष्ठानले बेड अभाब भएको र झापाबाट समवन्य नगरी विरामी पठाएकोले समस्या भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले दावी गर्नुभयो ।

विरामीहरु रातभर बाहिरै बसेको सूचनापछि सामाजिक विकासमन्त्री जीवन घिमिरे त्यसतर्फ जानुभएको छ । प्रतिष्ठानले कोभिड १९ अस्पताल बनाएको भएपनि कोरोना संक्रमितलाई अहिलेसम्म पेईङ व्लगको आईसोलेसनमा राख्दै आएको छ ।

संक्रमितलाई प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा धरान पठाएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका फोकल पर्सन जीवन चम्लागाईका अनुसार मन्त्रालयको समन्वयमा उनीहरुलाई धरान पठाएकोमा अस्पतालले बेड खाली नभएको भन्दै भर्ना नदिएकोले संक्रमतिहरु रातिदेखि बाहिरै रहेको बताउनुभयो ।

प्रतिष्ठानको ३० बेडको पेईङ वार्डमा अहिले सम्म ६७ जना कोरोना संक्रमित विरामी भर्ना भईसकेका छन । थप २७ जना विरामी आउदा समस्या भएको प्रतिष्ठानको भनाइ छ । संक्रमित विरामीलाई रातभरी आइसोलेसन बाहिर राखिएकोमा जोखिम बढेको छ ।

सरकारले वीपी प्रतिष्ठानलाई लेभल थ्रीको अस्पतालमा सुचिकृत गरेको छ । सय बेडको कोडिभ १९ अस्पताल पनि तयार गरेको जनाएको छ भने ७० बेडभन्दा बढी आइसोलेसन वार्ड भएको दाबी प्रतिष्ठानको छ ।