विराटनगर । शुक्रबार झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १५८ पुगेको छ ।

कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा झापाको केचनाकबलका २७ र भद्रपुरका एक जनामा कोरोना पुष्टि भएको हो ।

कोशीमा परीक्षण गर्दा २७ जनाको पोजेटिभ देखिएको थियो । उनीहरु सबै झापाको दक्षिणी कचनकवल गाउँपालिकाका हुन् । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा भद्रपुरका एक पुरुषमा संक्रमण देखिएको हो ।

बिहीबार मात्र कचनकवलमा २५ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै कचनकबलमा कोरोना संक्रमितको संख्या सय पुगेको छ । भद्रपुरमा भने पहिलो संक्रमण देखिएको हो ।

कचनकलबको महेन्द्ररत्‍न मावि केचनाको क्‍वारेन्टाइनमा बसेका ९९ जनामध्ये २७ जनामा शुक्रबार संक्रमण देखिएको हो । त्यही क्‍वारेन्टाइनमा बसेका २५ जनामा बिहीबार संक्रमण पुष्टि भएको थियो । यसअघि पाठामारीस्थित जानकी आधारभुत विद्यालयको क्वारेन्टाइनका ५७ जनामध्ये २३ जनामा संक्रमण देखिएको थियो ।

कोरोना देखिएकाहरु सबै भारतबाट आएका नागरिक भएको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बताउनुभयो । कचनकवलमा क्वारेनटाइनमा बसेका अन्य व्यक्तिको पनि शुक्रबारबाट फेरि स्वाब संकलन सुरु गरिएको छ । भारतमा मजदुरी गर्न गएका र रोग तथा भौतिक दूरीबारे थाहा नभएकोले धेरैमा संक्रमण भएको देखिएको अध्यक्ष आलमलेको भनाइ छ ।

कचनकवलका ठूला विद्यालयमा क्वारेन्टाइन बनाइएको छ । भारतबाट आएकाहरुलाई त्यहीं राखिएको छ । अध्यक्ष आलमका अनुसार करिब ४ सय मानिस क्वारेन्टाइनमा छन् ।

हालसम्म प्रदेश १ को झापामा १०७, उदयपुरमा ३३, धनकुटामा ७, मोरंगमा ५, सुनसरीमा ३, सोलुखुम्वु, भोजपुर र खोटाङका १÷१ जनामा संक्रमण देखिएको छ । उनीहरुमध्ये ३० जना उपचारपछि निको भएका छन् ।