विराटनगर । प्रदेश नं. १ का प्रदेशसभा सदस्यहरुले शिक्षण अस्पताल स्थापना गर्न, कोरोना चेकजाँचको दायरा फराकिलो बनाउन तथा फौजी किराको प्रकोप नियन्त्रण गर्न माग गरेका छन् ।
प्रदेश नं. १ प्रदेशसभाको छैठौं तथा बजेट अधिवेशनको तेस्रो बैठकमा शुक्रबार प्रदेशसभा सदस्यहरुले यस्तो माग गरेका हुन् ।
बजेट अधिवेशनको शुन्य समयमा बोल्नुहुँदै सांसद कुलप्रसाद साम्बाले विराटनगरको कोशी अस्पताल र झापाको मेची अस्पताललाई प्रदेश सरकारको मातहतमा ल्याई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्ने माग गर्नुभयो । उहाँले कोरोना पहिचान गर्न आर.डि.टी भन्दा पनि पिसिआर परीक्षणको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो ।
सांसद मोहनकुमार खड्काले प्रदेश नं. १ को ओखलढुङ्गामा फौजीकिराको प्रकोपका कारण खाद्यान्न अभावको अवस्था सिर्जना हुँदै गईरहेको बिषयतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले फौजी किराको प्रकोप नियन्त्रणका लागी प्रदेश सरकारले आवश्यक पहल गरि अन्न उत्पादनमा किसानहरुलाई राहत दिने वातावरण मिलाउन आग्रह गर्नुभयो । अर्का सांसद रामकुमार राईले पनि फौजी किराको प्रकोपका कारण खोटाङका किसानहरुले ७ सय हेक्टर जमिनमा लगाएको मकैबाली नष्ट भएको जानकारी गराउनुभयो ।
प्रदेशसभामा आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बोले पेश गर्नुभएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरुले आफ्नो धारणा राख्नुभएको थियो । सांसद अम्बिका थापाले खानेपानी आयोजनाहरु अन्तर्गत मुहान नभएका ठाउँमा लिफ्टिङको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभएको छ ।
सांसद उमिता विश्वकर्माले सिँचाई क्षेत्रमा बढीभन्दा बढी लगानीको आवश्कता रहेकोमा जोड दिनुभयो । उहाँले सामुदायिक विद्यालयहरुमार्फत गुणस्तरीय तथा प्राविधिक शिक्षा प्रवाहका लागि पनि आवश्यक खर्च छुट्याउनुपर्नेमा जोड दिनुभयो ।
अर्का सांसद सुयरमाराज राईले आगामी आर्थिक बर्षको बजेट वितरणमुखी नभएर उत्पादनमुखी हुनुपर्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद खिनु लङ्वाले आधारभुत तहका दक्ष तथा अर्धदक्ष जनशक्तिलाई प्रदेश सरकारको भौतिक पुर्वाधार विकास, पर्यटन विकास क्षेत्र र सामुहिक कृषि प्रणालीसँग अनिवार्य संलग्न गर्नुपर्ने सुझाव राख्नुभयो ।
खुल्ला सीमा नाकाका कारण प्रदेशबासीले कोभिड–१९ लगायतका अन्य विविद्य समस्याहरुको सामना गरिरहनु परेकाले सर्वप्रथम प्रदेशका सबै खुल्ला सीमा नाकाहरुलाई घेराबन्दी गरेर सुरक्षित गर्नुपर्ने सांसद बसन्त कुमार बानियाले बताउनुभयो । सांसद बिमल कार्कीले आगार्मी बर्षका निति तथा कार्यक्रममा औद्योगिकीकरणलाई ठोस ढङ्गले कार्यान्वयन हुने गरि बजेट विनियोजन हुनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश नं. १ प्रदेशसभाको बजेट अधिवेशनको अर्को बैठक भने जेठ १८ गते आईतबार दिनको १ बजे बस्नेछ ।