विराटनगर । चीनको ऊहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वभर फैलिएको बेला चीनले भने कोरोना संक्रमण करिब नियन्त्रणमा लिएको छ ।
वल्र्डमिटर इन्फोका अनुसार चीनमा अहिलेसम्म ८२ हजार ९ सय ९५ जनामा संक्रमण देखिएकोमा अब ७० जनामा मात्र कोरोना भाइरस सक्रिय रहेको छ ।
चीनमा संक्रमितमध्ये ७८ हजार २ सय ९१ जना निको भइसकेका छन् भने ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । उनीहरुमध्ये ४ जना मात्र गम्भीर अवस्थाका विरामी छन् ।
नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा कूल १ लाख ६५ हजार ३ सय ८६ मा कोरोना देखिएको छ । यो चीनभन्दा झन्डै दोब्बर हो । एशियामा सर्वाधिक महामारी फैलिएको देश भारतमा अमेरिका, रुस, ब्राजिल र फ्रान्सपछि धेरैमा भाइरस सक्रिय छ ।
भारतमा संक्रमितमध्ये ७० हजार ९ सय २० जना निको भइसकेका छन् भने ४ हजार ७ सय ११ जनाको मृत्यु भएको छ । भारतमा अहिले ८९ हजार ७ सय ५५ जनामा कोरोनाको सक्रिय संक्रमण कायम छ ।
संख्यात्मक रुपमा योभन्दा धेरै अमेरिकामा ११ लाख ६६ हजारभन्दा बढी, रुसमा २ लाख २३ हजारभन्दा बढी , ब्राजिलमा २ लाख १८ हजारभन्दा बढी र फ्रान्समा ९० हजारभन्दा बढी सक्रिय संक्रमित छन् । पछिल्लो आँकडाअनुसार नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । त्यसमध्ये १ सय ८७ जना निको भएका छन् र ५ जनाको मृत्यु भइसक्यो । यस तथ्यअनुसार नेपालमा ८ सय ५० जनामा सक्रिय संक्रमण छ ।
एशियाली देशमध्ये भारतपछि सक्रिय संक्रमण पाकिस्तानमा धेरै छ । कूल संक्रमित संख्या ६१ हजार २ सय २७ रहेको पाकिस्तानमा ३९ हजार ७ सय ३६ जनामा सक्रिय संक्रमण छ । (एजेन्सीको सहयोगमा)