विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ५ का स्थानीयले वडाको एक निजी विद्यालयमा बनाईएको होल्डिङ सेन्टरको विरोध गरेका छन् ।
उनीहरुले विराटनगर–५ स्थित दिल्ली पब्लिक स्कुलमा भारतबाट आउने नेपाली नागरिकहरुलाई राख्न बनाइएको होल्डिङ सेन्टरको विरोध गरेका हुन । प्रदेश नं. १ सरकारले भारतीय सीमावर्ती क्षेत्रसँग प्रत्यक्ष रुपमा जोडिएका झापा, मोरङ्ग, सुनसरी र ईलाम लगायतका जिल्लाहरुमा ५ हजार क्षमताको होल्डिङ एरिया निमार्ण गर्ने निर्णय गरेको छ । सोही निर्णय बमोजिम विराटनगर महानगरपालिकाले पनि भारतबाट आएका नेपाली नागरिकहरुलाई राख्न होल्डिङ एरिया बनाइरहेको छ ।
महानगरपालिकाले विराटनगर–१३ स्थित डि.ए.भी स्कूल र विराटनगर–५ स्थित दिल्ली पब्लिक स्कूलमा होल्डिङ सेन्टर तोकेको छ । तर, सम्बन्धित वडाका नगरबासीले सुरुवाती चरणदेखि नै महानगरको उक्त निर्णयप्रति विरोध जनाउँदै आएका छन् ।
आफ्नो गाउँमा होल्डिङ एरिया बनाउँदा समुदायस्तरमा कोरोना संक्रमण फैलने भ्रमको कारण उनीहरु विरोधमा उत्रिएका हुन् । यद्यपि विरोधबिच डि.ए.भी स्कूलमा ४ सय क्षमताको होल्डिङ सेन्टर निर्माण भइसकेको छ । त्यहाँ जेठ १३ र १४ गते जोगबनी नाका हुँदै नेपाल भित्रिएका ३ सय ६० जनामध्ये ७४ जना नेपाली नागरिकहरुलाई राखिएको छ । जसमा बाँकी २ सय ८६ जनालाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा होल्डिङ सेन्टरबाट सम्बन्धित स्थानीय तहको जिम्मा लगाईएको छ ।
विराटनगर–५ स्थित दिल्ली पब्लिक स्कूलमा निर्माण भएको होल्डिङ सेन्टर प्रयोगमा आइसकेको छैन । स्थानीय अलिशा खातुनले बस्ती नजिक शंकास्पद बिरामी राख्दा आपूmहरुमा कोरोना सङक्रमण हुनसक्ने भएकोले विरोध गरेको बताउनुभयो ।
स्थानीयको विरोद्यका कारण वडा नं. ५ को होल्डिङ सेन्टर प्रयोगमा आउन नसकेपछि महानगरपालिकाले विराटनगर–७ स्थित आर्दश मा.वि.मा थप ३ सय क्षमताको होल्डिङ सेन्टर निर्माण गरेको छ । उक्त होल्डिङ सेन्टर पनि सञ्चालनकै प्रक्रियामा रहेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताउनुभयो । उहाँले भारतबाट आएका नेपाली नागरिकलाई जथाभाबी छोडिदिए समुदायस्तरमा कोरोना भाईरसको संक्रमण फैलिनसक्ने भएकोले उनीहरुलाई होल्डिङ सेन्टरमा राखिने जानकारी दिनुभयो । होल्डिङ सेन्टरको सम्बन्धमा स्थानीयद्धारा गरिएको विरोध असान्दर्भिक भएको मेयर पराजुलीको भनाई छ ।
कोरोना सङक्रमणको जोखिम न्युनीकरण गर्न विराटनगर महानगरपालिकाले भने १९ वटै वडामा क्वारेन्टाईन निमार्णको तयारी गरिरहेको जनाएको छ । महानगरले क्वारेन्टाईन निमार्णका लागी विभिन्न होटल व्यावसायीहरुसँग समेत समन्वय गरिरहेको जानकारी दिएको छ ।