विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्तिहरूको एकतामा जोड दिनुभएको छ ।
बिहीबार १३ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले गणतन्त्र प्राप्तिका लागि लडेका शक्तिहरु एकतावद्ध भई जन–अपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।
अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौं वर्षदेखि चल्दै आएको राजतन्त्रात्मक प्रणालीमा सामान्य मात्रात्मक सुधारमात्र नभई गुणात्मक परिर्वतनको प्रतिनिधित्व भएको बताउनुभएको छ । यो नयाँ राजनीतिक प्रणालीले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको उहाँको भनाइ छ ।
प्रचण्डले गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र विभिन्न जनआन्दोलनहरुमा आफ्नो प्राणको उत्सर्ग गर्नुहुने महान् सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता योद्धा र घाइते योद्धाहरुको त्याग र समर्पण प्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) को रोकथाम र उपचारका लागि अग्रमोर्चामा खटिने सम्पूर्णको उच्च प्रशंसा गर्दै यस ऐतिहासिक दिवसका अवसरमा सबैको सुस्वास्थ्य र प्रगतिको कामना गर्नुभएको छ ।
देउवाको पनि शुभकामना
यसैबीच नेपााली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । गणतन्त्र दिवसमा शुभकामना सन्देशमार्फत उहाँले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनुपर्नेमा जोड दिनुभएको छ ।
देउवाले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको र संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक भएको र केन्द्रीय समितिको बैठकबाट यसबारे संस्थागत निर्णय गर्ने अवगत गराउँदै काँग्रेसको धारणाबारे कुनै पनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्नसमेत आग्रह गर्नुभएको छ ।