विराटनगर । नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा भएका प्रयोगशालामा गरिएको परीक्षणमा यति धेरै संख्यामा संक्रमित भेटिएका हुन् ।
बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका ११ जनामा कोरोना देखिएको छ । यस्तै कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
उता हेटौंडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा, दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामा, र बाँकेको भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको स्वास्थ्य मनत्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ । बुधबार कर्णालीमा पनि १५ जनामा कोरोना पुष्टि भएको छ । वीरेन्द्रनगरको प्रयोगशालामा भएको परीक्षणबाट १५ जनामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ ।
नेपालमा संक्रमण देखिएकामध्ये पुरुष ८०५ र महिला ९६ रहेका छन् । उनीहरुमध्ये ५ जनाको मृत्यु भएको छ भने १८२ जना उपचारपछि निको भएका छन् ।