विराटनगर । आइतबार नेपालमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा १९ जना संक्रमित थपिएको जानकारी दिएकोमा बाँके र बर्दियामा थप ५ जनामा कोरोना देखिएको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा मोरङको बारादशी ३ का ४५ वर्षीय पुरुषमा कोरोना देखिएको जानकारी दिएको भएपनि संक्रमितको ठेगाना झापा हो । मन्त्रालयले संक्रमितको ठेगानामा गलत जिल्ला बताएको हो ।
मन्त्रालयका अनुसार आइतबार बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। बारामा संक्रमित भेटिएका ४ जना नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन् ।
यस्तै रुपन्देहीको समरिमाई ५ का ४० र ५० वर्षीय पुरुष, रुपन्देही १ का ३२ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ । यस्तै गैडाहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय पुरुष तथा कपिलवस्तुका का ३५, ३७ र ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ पुरुष र गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
उता दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका ४ जना र बर्दियाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दियाको बासगढी नगरपालिका–९ का २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै, बाँकेको राप्ती सोनारी गाउँपालिका–५ का २४, २३, २३ र १६ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या ६०८ पुगेको छ । उनीहरूमध्ये तीन जनाको निधन भएको छ भने ८७ जना निको भइसकेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८७ पुगेको छ ।