संखुवासभा । थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी संखुवासभाको खाँदबारी नगरपालिका ६ की गङ्गा कार्कीको मृत्यु भएको छ।

उपचारका क्रममा काठमाडौस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

नवजात शिशु गुमाएकी ३२ वर्षीया कार्कीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत शुक्रबार ४ बजे काठमाडौँ लगिएको थियो। उनलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि प्रसूति गृह लगिएको थियो ।

गत चैत ४ गते प्रसुत गराउन जिल्ला अस्पताल खाँदबारीमा भर्ना भएकी कार्कीलाई शिशु अप्ठ्यारो गरेर बसेको भन्दै विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको थियो। सो अस्पतालमा मृत शिशु जन्मेपछि उनी बेहोस भएकी थिइन्। त्यहाँ उनका परिवारले २ लाख रुपैयाँभन्दा बढी खर्च गरेपनि ठिक नभएको र उपचार खर्च सकिएपछि घर फर्काएको बताइएको छ ।

घर फर्किपछि पुनः विरामी परेकी हुनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको थियो । पारिवारिक स्रोतका अनुसार उनको शरीरमा रगतको मात्रा कमी थियो ।