विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका धनकुटाका चार जना स्वास्थ्यकर्मीले उपचार केन्द्रको काममा सहयोग गरिरहेका छन् ।
स्वास्थ्यकर्मीहरु संक्रमित भएर अस्पतालमा आएपछि उनीहरुले अन्य संक्रमितको स्वास्थ्य परीक्षणका विभिन्न कार्यमा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको कामलाई सहज बनाएका छन् ।
सामान्य अवस्थामा रहेका स्वास्थ्यकर्मीले अन्य संक्रमितलाई कोरोनाका बारेमा सचेत बनाउने र डिस्चार्जपछि गर्नुपर्ने कामका बारेमा जानकारी दिने गरेको कोभिड अस्पतालका फिजिसियन डा.डेन आचार्यले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीले भर्ना भएदेखि नै संक्रमितको उपचारमा सघाउँदै आएको उहाँको भनाइ छ ।
जेठ ४ गते पहिलो पटक जिल्ला अस्पताल धनकुटाकी एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि कन्ट्याक टेसिङका आधारमा गरिएको स्वाव परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा धनकुटा अस्पतालका तीन स्वास्थ्यकर्मी पनि परेका हुन् । कोभिड अस्पतालमा बिहीबारसम्म ३४ जना संक्रमित भर्ना भएका छन् ।
‘उहाँहरु सामान्य अवस्थाको हुनुहुन्छ, संक्रमितलाई कोरोनाका बारेमा विभिन्न विषयमा जानकारी गराउँदै उपचार कार्यमा हामीलाई सघाउँदै आउनुभएको छ’ अस्पतालका डा.आचार्यले भन्नुभया । अस्पतालमा उपचारत एक संक्रमितलाई निमोनिया भएको छ । उनको उपचारमा संक्रमित स्वास्थ्यकर्मीले सहयोग गरिरहेको अस्पतालको भनाइ छ ।
कोभिड अस्पतालमा चिकित्सकसहित २५ जनाको टिम संक्रमितको उपचारमा खटिएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरु ७ दिन कोभिड अस्पतालमा रहेका संक्रमितको उपचारमा संलग्न रहन्छन् । ७ दिनको अस्पताल बसाईपछि १४ दिन क्वारेन्टाईनमा बस्ने गरेका छन् ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या बिहीबारसम्म ८४ पुगेको छ । २६ जना डिस्चार्ज भएका छन् । स्वास्थ्यकर्मीसहित ५८ जना अहिले उपचाररत रहेका छन् ।