प्रदेश १ : सबैभन्दा धेरै संक्रमित झापामा

विराटनगर । प्रदेश १ मा उदयपुरमा सबैभन्दा धेरै कोरोना संक्रमित पाइएकोमा बिहीबारबाट झापाले उदयपुरलाई उछिनेको छ ।

बिहीबार झापामा थप ८ जनामा कोरोना पुष्टि भएपछि झापामा संक्रमितको संख्या ३५ पुगेको छ । उदयपुरमा हालसम्म ३३ संक्रमित भेटिएका छन् ।

झापामा संक्रमित भेटिएका ३५ जनामा ३३ जना कचनकवल गाउँपालिकाका छन् । गाउँपालिकाले गएको शनिबारयता भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखेकोमा उनीहरुको परीक्षण गर्दा कोरोना देखिएको हो ।

गाउँपालिकाका अध्यक्ष अञ्जरा आलमका अनुसार कचनकवल–२ को लक्ष्मीप्रसाद देवकोटा माविमा रहेको क्वारेन्टाइनमा रहेका ६५ जनामध्ये २३ जनामा कोरोना पुष्टि भएको छ । बिहिबार सोही क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना भाइरस भेटिएको हो । संक्रमित सबैलाई भारतबाट चोरबाटो हुँदै नेपाल प्रवेश गर्न खोज्दा स्थानीय प्रशासनले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको आलमले बताउनुभयो ।

भारतबाट आएका २ सय बढिलाई क्वारेन्टाइनमा राखेर परीक्षण भइरहेको र कतिपयको रिपोर्ट आउने क्रममा रहेकोले संक्रमितको संख्या अझै बढ्ने अध्यक्ष आलमले बताउनुभयो । गाउँपालिकाले भारतबाट भारतबाट आई सीमामा अलपत्र परेका तथा लुकिछिपी नेपाल छिरेकालाई राख्न वडा नम्बर २ को लक्ष्मीप्रसाद देवकोटा मावि, वडा नम्बर ३ को पथरिया मावि, वडा नम्बर ४ को केचना र पाठामारीमा क्वारेन्टाइन बनाएको छ ।

पथरिया मावि क्वारेन्टाइनमा रहेका ३३ जनाको स्वाब परीक्षण गर्दा यसअघि १० जनामा कोरोना देखिएको थियो । केचनामा रहेको क्वारेन्टाइनमा ९४ जना र पाठामारीमा २८ जना छन् । उनीहरु सबै भारतबाट आएका हुन् । पाठामारी र केचनामा रहेको क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण रिपोर्ट आउन बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।

संक्रमितको संख्या बढेपछि झापाको दक्षिणी भारतीय सीमावर्ती क्षेत्रमा रहेको कचनकवल गाउँपालिका सिल गरिएको छ। गाउँपालिकाका ५ वटा वडामा आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको अध्यक्ष आलमले जानकारी दिनुभयो।

कचनकवलको ५ वटा वडा भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्लासँग जोडिएको छ। खुला सीमा कारण भारतबाट लुकिछिपी नेपाली नागरिक आउने क्रम जारी छ। बोर्डरसम्म आइपुगेका नेपालीहरूलाई भारतीय एसएसबीले पनि नेपाल प्रवेश गराएकोले सीमामा थप चुनौती देखिएको गाउँपालिकाले जनाएको छ ।

समुदायमा भने अहिलेसम्म कोरोना संक्रमण नदेखिएकोले संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको गाउँपालिकाले जनाएको छ । संक्रमण पुष्टि भएकाहरुलाई विराटनगर स्थित कोभिड १९ उपचार केन्द्रमा ल्याइएको छ ।

जिल्लाभरमा जम्मा २९ स्थानका क्वारेन्टाइनमा एक हजार बेड छन् । तीमध्ये आधा भरिइसकेका छन् । भारतबाट आउनेहरुलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्नुको विकल्प छैन ।

प्रदेश १ मा बिहीबारसम्म झापमा ३५, उदयपुरमा ३३, धनकुटामा ७, मोरङमा ४, सुनसरीमा ३ तथा खोटाङ र भोजपुरमा १÷जनामा कोरोना पुष्टि भएको छ । उनीहरुमध्ये २६ जना निको भएर घर फर्किएका छन् ।

बिहिबार, ०८ जेठ, २०७७, साँझको ०६:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर