विराटनगर । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले मुलुकको नयाँ नक्सा सार्वजनिक भएको विषयमा कुनै व्यक्तिको देवत्वकरण गर्न आवश्यक नभएको बताउनुभएको छ ।
बुधबार बिहान विज्ञप्ति शैलीमा सामाजिक सञ्जालमा लामो स्टाटस पोष्ट गर्दै गौतमले नयाँ नक्सा सार्वजनिक हुनु पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएको बताउनुभएको छ ।
‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ ।’ गौतमले भन्नुभएको छ, ‘तर, यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ ।’
नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा आफूले सुरुदेखि नै पार्टीभित्र सशक्त विचार र जोडदार माग राख्दै आएको गौतमको भनाइ छ । ‘यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको यहाँहरु सबैमा जानकारी गराउँछु’ उहाँले उल्लेख गर्नुभएको छ ।
अहिलेको सरकारको धेरै काम आलोचनायोग्य भएपनि यो काम भने स्वागतयोग्य भएको गौतमले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । ‘किनभने, सिमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको छ’ उहाँले लेख्नुभएको छ ।
सरकारको नीति तथा कार्यक्रम आउनु अगाडि बसेको नेकपा सचिबालय बैठकले नयाँ नक्सा जारी गर्ने विषय नीति तथा कार्यक्रममा उल्लेख गर्न सरकारलाई निर्देशन दिएको थियो । त्यसो त ६ महिना अगाडि नै संसदीय समितिले पनि नयाँ नक्सा जारी गर्न निर्देशन दिएको थियो ।
नयाँ नक्सालाई लिएर नेकपाभित्रकै केही नेताहरूले मात्र निर्णयको जस लिन खोजेको भन्दै गौतमले त्यसको प्रतिवादन गर्नुभएको छ ।