विराटनगर । पथरी शनिश्चरे नगरपालिकाले कोरोना संक्रमण फैलिन नदिन बुधबारदेखि बन्दाबन्दी थप कडा बनाउने निर्णय गरेको छ ।
बुधबार बसेको कार्यपालिकाको बैठकले बन्दाबन्दी कडा बनाउनुका साथै केही दिन पथरी शनिश्चरेका सबै प्रकारका पसल तथा व्यवसाय बन्द गर्ने निर्णय पनि गरेको छ ।
पथरीमा घर भएका एक सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि नगर प्रवेश गर्ने सबै सीमाहरुमा प्रहरी परिचालन गरेर केही समयका लागि बन्द गर्ने तथा आवतजावतमा पूर्ण रोक लगाउने निर्णयसमेत बैठकले गरेको छ ।
यसका साथै, कोरोना संक्रमित हुनसक्ने आशंकामा रहेका व्यक्तिलाई क्वारेन्टिनमा पुर्याउनु अघि सुरक्षित स्थलमा राख्ने व्यवस्था गर्ने निर्णय भएको नगर प्रमुख दिलीपकुमार राईले जनाउनु भयो । साथै उहाँले नगर क्षेत्रमा पनि कोरोनाको जोखिम बढ्दै गएकाले सवै नगरवासीलाई घरभित्रै बस्नका लागि आग्रह समेत गर्नुभयो ।
बैठकले, नगर र वडाका सम्झौता भएका योजनाहरु लकडाउनले सम्पन्न हुन नसकेकाले त्यस्ता योजनाको काम सम्पन्न गर्ने अवधि असार १५ गतेसम्मलाई तोकेको छ ।
साथै, नगरको जैविक मल पशुपंक्षीका लागि पोषणयुक्त आहाराको कार्यक्रमलाई वडाहरुमार्फत अघि बढाउने पनि निर्णय भएको छ ।