विराटनगर। प्रदेश १ मा मंगलबार थप ९ जनामा कोरोना पुष्टि भएको छ । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा झापाको केचनाकबलका ९ जनामा कोरोना देखिएको हो ।
सोमबार झापाको केचनाकै एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो । उनको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना देखिएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसअघि मंगलबार नै सुनसरीको दुई जनमा कोरोना संक्रमण पुष्टि भएको छ । धरान स्थित विपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको परीक्षणमा इटहरीका १८ वर्षीय युवा र पश्चिम कुशाहमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।
प्रदेश १ मा उदयपुरका ३३, झापाका १२, मोरङ ३, सुनसरीका ३, भोजपुर १, धनकुटा १, खोटाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमितहरुलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखिँदै आएको छ । त्यहाँ राखिएका १७ जना उपचारपछि निको भएर डिस्चार्ज गरिएका छन् ।
पछिल्लो तथ्यांक अनुसार प्रदेश १ मा साढे १२ हजारभन्दा बढीको परीक्षण गरिएको छ । जसमध्ये ३ हजार १ सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।
उता कपिलवस्तुमा मंगलबार नै थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९० पुगको छ । जसमा २ जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि निको भएका छन् ।