विराटनगर । मोरङ्गको विराटनगर महानगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै स्थानीय प्रशासनले उनीहरुको ट्राभल हिस्ट्री खोज्न सुरु गरेको छ ।
विराटनगर ६ झर्ना चौककी २९ वर्षीया महिला र विराटनगर १५ हड्ताली टोलका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएसँगै विराटनगरमा लकडाउन कडा बनाउँदै उनीहरुको ट्राभल हिस्ट्री र कन्ट्रयाक टे«सिङ थालिएको हो ।
संक्रमित पुरुष विराटनगर महानगरपालिकाको सफाई कर्मचारी हुन् । उनले फोहोरमैला व्यवस्थापन कार्यक्रम अन्तर्गत विराटनगरको विभिन्न वडाको फोहोर संकलन गर्दै आएको देखिएको छ । उनले वेष्ट म्यानेजमेन्ट गु्रपका अन्य कर्मचारीहरुसँग दैनिक विराटनगर १५, १६ र १७ को फोहोर संकलन गर्दै आएको विराटनगर १५ का वडाध्यक्ष असलम आलमले जानकारी दिनुभयो ।
महानगरपालिकाले वेष्ट म्यानेजमेन्ट गु्रपका ८ जना र महानगरका ७ जना गरि १५ जना सफाई कर्मचारीहरुको पिसिआर परिक्षण गराएको थियो । संक्रमितको श्रीमतीको रिपोर्ट नेगेटिभ आएको र फोहोर बोक्ने ट्रयाक्टर चालकको रिपोर्ट आउन बाँकी रहेको वडाध्यक्ष आलमले बताउनुभयो ।
विराटनगर–६ की संक्रमित महिला भने एक साता अगाडि भारतको बेगुसरायबाट नेपाल फर्किएको खुलेको छ । सरकारले नेपालका सबै सीमा नाका बन्द गरेपनि उनीसहित १० जना भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेको पाइएको छ ।
उनीसँगै नेपाल प्रवेश गरेका अन्य व्यक्तिहरु विराटनगर ६ कै हुन् । उनीहरु सबै हाल स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको वडा नं. ६ का वडाध्यक्ष विजय कामतले बताउनुभयो । उनीहरुमध्ये ८ जनाको पिसिआर परिक्षण गर्दा एक जनाको पोजेटिभ आएको र २ जनाको परिक्षणको रिपोर्ट आउन बाँकी रहेको मोरङ्ग प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिनुभयो । लकडाउनको समयमा लुकिछिपी आएर घरमा बसेका उनीहरुको बारेमा स्थानीयले प्रशासनलाई खबर गरेपछि उनीहरुको कोरोना परीक्षण गरिएको थियो ।
एकैसाथ २ जनामा कोरोना सङक्रमण पुष्टि भएपछि हाल विराटनगर महानगरपालिका वडा नं. १५ र ६ का निश्चित ठाउँलाई सिल गरिएको छ । संक्रमितहरुसँग सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरेर उनीहरुलाई परक्षिणको दायरामा ल्याउन कन्टयाक्ट टे«सिङको काम भईरहेको मोरङ्गका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो ।