विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उदयपुर जिल्ला अध्यक्ष विनोद कटुवाल दिवस आइसोलेसनमा भर्ना हुनुभएको छ ।
आफूसँगै सम्पर्कमा रहेका पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएपछि कटुवाल आफैं आइसोलेसनमा भर्ना हुनुभएको हो ।
संक्रमित पत्रकार विराटनगरको कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसनमा छन् । आपूmसँगै एउटै घरमा बस्ने र एउटै भान्छा प्रयोग गर्ने पत्रकारमा कोरोना देखिएपछि सतर्कता अपनाउँदै कटारी अस्पतालको आइसोलेसनमा भर्ना भएको कटुवालले जानकारी दिनुभयो ।
‘एउटै घरमा बसेको र घुलमिलसमेत भएकोले आफै अस्पतालको आइसोलेसनमा आएको हुँ उहाँले भन्नुभयो, ‘घरमा बस्दा परिवार र समाजका अन्य सदस्यलाईसमेत समस्या हुने देखेर नै आइसोलेसनमा आएँ ।’ सबैको सल्लाहमा आइतबार विहान अस्पतालमा भर्ना भएको कटुवालको भनाइ छ । आफू सुरक्षित हुने र अरुलाई पनि सुरक्षित बनाउनुपर्छ भनेर भर्ना भएको उहाँले बताउनुभयो ।
कटवालको कोरोना संक्रमण परीक्षणको तयारी भइरहेको अस्पतालले जनाएको छ । कटारी अस्पतालले कोभिड–१९ को उपचारका लागि ६ वेडको आइसोलेसन तयारी अवस्थमा राखेको थियो ।
संक्रमित पत्रकारसँगै सम्पर्कमा रहेका दुईमध्ये एक उदयपुर जिल्ला अस्पतालको आइसोलेसन र अर्का क्वारेन्टाइनमा राखिएका छन् । संक्रमित पत्रकारसँग जिल्ला समन्वय समिति उदयपुरका संयोजक खडग परियार, अधिकारकर्मी, अन्य पत्रकारहरु लगायत दर्जनौं सम्पर्कमा रहेकोले उनीहरुको ट्रेसिङ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रदेशमा ३२ जनामा कोरोना देखिएको गाइघाटको भुल्केबाट नियमित रिपोर्टिङ गरिरहेका २५ वर्षीय पत्रकार संक्रमित भएसँगै गाईघाट बजारमा पहिलोपटक संक्रमण देखिएको हो । ती पत्रकारलाई शुक्रबार कोरोना पुष्टि भएको हो । उनीसहित उदययपुरमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । त्यसमध्ये १५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।