इटहरी । रोटर्याक्ट क्लब अफ इटहरीले रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराहा वाहिनी मुख्यालय, पकली सुनसरीलाई विपद् व्यवस्थापन तथा उद्धार कार्यका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।
विपद्का समयमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले शनिबार आयोजित कार्यक्रममा करिब २ लाख ५० हजार रुपैयाँ बराबरका विभिन्न सामग्री हस्तान्तरण गरिएको क्लबले जनाएको छ।
कार्यक्रमको अध्यक्षता रोटर्याक्ट क्लब अफ इटहरीका अध्यक्ष शीतल धितालले गरेकी थिइन् भने सचिव जेनिशा सुमनले सञ्चालन गरेकी थिइन्। प्रमुख अतिथिका रूपमा सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेल सहभागी थिए। कार्यक्रममा रोटरियन सन्तबहादुर डुम्जन, अनन्त विष्ट, चेतन धमला, अरुण केसी तथा रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट ग्रान्ट कमिटी सदस्य एवं क्लबका पूर्वअध्यक्ष भूपेन्द्र निरौलाको विशेष उपस्थिति रहेको थियो।
त्यसैगरी डीएसपी दिनेश कटवाल, डीएसपी सञ्जीव पौडेल, डीएसपी विश्वनाथ पोखरेल, इन्स्पेक्टर टेक कटवाल र इन्स्पेक्टर प्रेम राईलगायत सशस्त्र प्रहरीका अधिकारीहरू कार्यक्रममा सहभागी थिए।
हस्तान्तरण गरिएका सामग्रीमा फायर बल, पोर्टेबल मेगाफोन, ड्राइ ब्याग, स्विमिङ बुट, रेस्क्यु थ्रो रोप, लाइफ ब्वाय रिङ, लाइफ ज्याकेट, सेफ्टी हेलमेट, स्ट्रेचर, वाकी–टकी, फायर एक्स्टिङ्गुइशर, रेनकोट तथा फर्स्ट एड किटलगायत रहेका छन्।
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेलले रोटर्याक्ट क्लबको पहलको प्रशंसा गर्दै यस्ता सहयोगले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन र समाजसेवामा सकारात्मक योगदान पुर्याउन मद्दत पुग्ने बताए।
क्लबका अध्यक्ष शीतल धितालले उपलब्ध गराइएका सामग्रीले उद्धार तथा राहत कार्यलाई अझ सहज, प्रभावकारी र सेवामुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। उनले आगामी दिनमा पनि सशस्त्र प्रहरी बलसँग सहकार्य गर्दै सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।