नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।
गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको आइतबार विहान स्वास्थ्यावस्था असामान्य भएपछि तत्काल मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक मोइन खानका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइएकोमा एम्बुलेन्स पुग्नुअगावै उनको मृत्यु भएको थियो । क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित बनेका छन् ।
मृतकको कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबारै संकलन गरिएको छ । आज त्यसको रिपोर्ट आउने बताइएको छ ।
एकैदिन ८ सङ्क्रमित भेटिएको नरैनापुरमा सङ्क्रमितको सम्पर्कमा आएका २६३ जनाको शनिबार स्वाब संकलन गरिएको छ । पहिलो चरणमा सङ्क्रमित आठजनाको सम्पर्कमा आएका २८४ जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गर्न नेपालगन्जबाट स्वास्थ्य टोली खटिए पनि शनिबार २६३ जनाको संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

