विराटनगर । कोरोना भाईरसको रोकथाम तथा न्युनीकरणका लागि जारी लकडाउनलाई प्रभावकारी बनाउँदै जनजीवन सहज बनाउन मोरङ्गमा टाईमकार्ड लागू गरिएको छ ।
सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै उद्योगधन्दा तथा विकास निर्माणका काम सुचारु गर्ने निर्णय गरेपछि त्यसको सहजताको लागि जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिले टाइमकार्ड लागू गरेको हो । अब विभिन्न क्षेत्रका सवारी साधन तोकिएको समयमा मात्र सञ्चालन हुन पाउनेछन् ।
निर्णय अनुसार मोरङ्ग जिल्ला भरी लकडाउनको अवधीमा संचालन हुन पाउने सवारीका साधनहरुलाई संचालन हुने समयसीमा तोकिएको छ । यसै गरी उक्त अवधीमा संचालन हुन नपाउने सेवा सुविधा वा कार्यालयहरुको विवरण समेत निर्णय गरिएको छ ।
समितिको निर्णयमा लकडाउनको समयमा संचालन हुन नपाउने भन्दै अन्तराष्ट्रिय हवाई उडान, केबलकार सेवा र रेलवे सेवासमेत उल्लेख छ । मोरङ्गमा रेलवे र केबलकार नभएपनि संघीय सरकारले गरेको निर्णय जस्ताको तस्तै कपी गर्दा जिल्लामा पनि रेलवे र केबलकार बन्द गर्ने निर्णय गरिएको हो ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समितिमा सुरक्षा निकायका प्रमुखहरुसहित सरोकारवाला कार्यालयका प्रमुख सदस्य छन् । यस्तै जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुखहरु समितिका सल्लाहकार हुन्छन् ।
प्रशासनले जारी गरेको टाईमकार्डमा बिहान ६ बजेदेखि १० बजेसम्म पशुपन्क्षी, माछा पालन, कुखुरा पालन तथा बिक्रि वितरण गर्न पाईने उल्लेख छ । यस्तै फलफुल, तरकारी, दुध र दुग्धजन्य पदार्थको उत्पादन, सङकलन, भण्डारण तथा बिक्रि वितरण, नर्सरीबाट बिरुवाको र घाँस तथा दानाको उत्पादन एवं बिक्रि वितरण र कृषिजन्य बिउबिजनको उत्पादन, भण्डारण तथा बिक्रि वितरण गर्न सोही समय तोकिएको छ ।
त्यस्तै बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म औद्योगिक कच्चा पदार्थ तथा तयारी मालबाहक सवारीसाधन र विकास निमार्णका कार्यमा प्रयोग हुने सामाग्रीहरु बोकेको सवारी साधन सञ्चालन हुनेछन् । बिहान ६ बजेदेखि बेलुकी ५ बजेसम्मको अवद्यिमा नदीजन्य एवं खोलाजन्य पदार्थको उत्पादन, संकलन तथा दुवानी सम्बन्धी कार्य गर्न सकिनेछ ।
सिमेन्ट उद्योगका लागी खानी सञ्चालन लगायत आवश्यक चुनढुङगा, कोईला र क्लिङकरको उत्पादन र दुवानी सम्बन्धि कार्यका लागि बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्मको समयावधि छुट्याईएको छ । भन्सार जाँचपास भई आएका मालबाहक सवारी साधनको आवागमनमा कुनै प्रकारको समय बन्देज नलाग्ने मोरङ्ग प्रशासनले जनाएको छ ।
प्रशासनले विश्वविद्यालय, क्याम्पस र विद्यालय लगायतका सबै प्रकारको शैक्षिक संस्था तथा प्रशिक्षण केन्द्रहरु, गैह्र खाद्य वस्तु बिक्रि वितरण गर्ने मल, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क लगायतका सार्वजनिक स्थलहरु, सार्वजनिक जमघट हुने धार्मिक स्थल, रङगशाला, खेलकुद स्थल, फुटसल, जीम क्लब, सैलुन, ब्युटी पार्लर, होटल तथा रेष्टुरेन्टहरु र स्थानीय प्रशासनबाट पास पाएका बाहेक सबै प्रकारका यात्रुबाहक सवारीसाधनहरुको आवागमनमा पुर्णतया रोक लगाएको छ ।