ताप्लेजुङ । शुक्रबार राति ताप्लेजुङ सदरमुकाम फुङ्लिङको ट्याक्सी स्टेन छेउमा भएको आगलागीमा ७ करोड बढिको क्षति भएको छ ।
आगलागीमा ७ करोड ६५ लाख ७२ हजार बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क संकलन गरिएको छ भने २९ परिवार विस्थापित भएका छन् ।
आगलागीमा ७ वटा पूर्ण रुपमा जलेको छ भने आगो फैलन नदिन आगो लाग्दै गरेको १ घर भत्काइएको छ । नजिकका अरु केहि घरमा आशिंक क्षति भएको प्रहरीले जनाएको छ । आगागीमा ८ घरमा बस्ने २९ परिवार विस्थापित भएका छन् ।
आगलागीबाट नेत्रबहादुर कार्की, खेमराज केसी, चन्द्रप्रसाद निरौला, खड्ग थापा, ठगबहादुर कार्की, नारायण भट्टराई, हस्तमाया लेछर्बो र रामकुमार शाहको घर जलेको हो । यी घरमा रहेका नेपाली कांग्रेस जिल्ला कार्य समिति, जिल्ला फुटबल संघ, अलैंची व्यवसायी संघ, निजी विद्यालय अर्गनाइजेसन (प्याब्सनं) का कार्यलय पनि जलेका छन् ।
आगलागीमा एउटा मनी ट्रान्सफरको कार्यालय पनि जलेको छ भने विभिन्न पसलहरु पनि आगलागीबाट जलेका छन् । आगोले ६ वटा संस्थागत निकायहरुको कार्यालय तथा संरचनामा क्षति गरेको छ । आगलागीको कारण खुलेको छैन ।
यसैबीच आगलागी पीडित परिवारलाई स्थानीय सरकार र विभिन्न सामाजिक संघसंस्थाले राहत वितरण सुरु गरेका छन् । फुङलिङ नगरपालिकाले तत्कालका लागि अत्यावश्यक पर्ने दाल, चामल लगायतका खाद्यान्न सामाग्री वितरण गरेको नगरप्रमुख छत्रपति प्याकुरेलले जानकारी दिनुभयो ।
हरेक परिवारलाई राहत स्वरुप २५ किलो चामल, २ किलो चिनी, २ लिटर खाने तेल, २ किलो नुन, ३ किलो आलु, २ किलो दाल, र १ प्याकेट चिउरा वितरण गरिएको छ । नगरपालिकाले पनि क्षतिको पुर्ण विवरण संकलनपछि थप राहत प्रदान गर्ने जनाएको छ ।
नेपाल रेडक्रस जिल्ला शाखाले पाल, कम्बल लगायतका गैर खाद्यान्न सामाग्री वितरण गरेको छ । यस्तै ताप्लेजुङ बहुउद्धेश्यि सहकारी संस्था र न्यू कंञ्चनजंघा सहकारी संस्थाले समेत नगदै सहयोग गरेका छन् ।

