लोड हुँदैछ...

मेनु

एकै गाउँका ४० बढी बिरामी

एकै गाउँका ४० बढी बिरामी

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ सल्यानमा झाडापखाला तथा कमलपित्त (जन्डिस)का कारण ४० जना विरामी भएका छन् ।

साविक सल्यान गाविसको वडा नं १ र ३ का उनीहरुमध्ये एकै वरिवारका चार जनासम्म बिरामी रहेको वडाध्यक्ष भेषकुमार बाँस्तोलाले जानकारी दिनुभयो ।

साविक वडा नं १ को चौतारा स्थित नेवार बस्तीका करिब २५ जनामा झाडापखाला र साविक वडा नं ३ का करिब २० जनामा जन्डिस देखिएको वडाअध्यक्ष बाँस्तोलाले बताउनुभयो । शुक्रबार स्वास्थ्यकर्मीसहितको टोली गएर त्यस क्षेत्रको वास्तविकता बुझ्दा बिरामीको सङ्ख्या बढिरहेको पाइएको उहाँको भनाइ छ ।

एक हप्तादेखि बिरामीको सङ्ख्या अप्रत्यासितरुपमा बढ्दै गएपछि जिल्लाबाट चिकित्सकसहितको टोली शुक्रबार त्यहाँ पुगेको छ । सरुवा रोग तीव्र गतिमा फैलिएकाले जिल्ला अस्पताल फाप्लुबाट चिकित्सकसहितको टोली सल्यान पुगेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल फाप्लुका डाक्टर, गाउँपालिकाका स्वास्थ्यकर्मी सबै त्यस क्षेत्रमा परिचालन गरिएको गाउँपालिकाले जनाएको छ । पानीको मुहान दूषित भएकाले बिरामी परेको हुनसक्ने अनुमान गरिएको छ । त्यस क्षेत्रका नागरिकले प्रयोग गर्ने तीनवटा खानेपानीका मुहानमध्ये एउटा मुहान फोहर रहेको पाइएको वडाध्यक्ष बाँस्तोलाको भनाइ छ ।

तीनवटै मुहानको पानी परीक्षणको तयारी भइरहेकाले खानेपानी या अन्य कुनै कारणले यो रोग फैलिएको बारे अहिले नै भन्न नसकिने अध्यक्ष बाँस्तोलाले बताउनुभयो । ‘दैनिक रुपमा तीनदेखि चारजनामा जन्डिस देखापरेको छ,’ प्राथमिक स्वास्थ्य केन्द्र सल्यानका मेडिकल अधिकृत डा. अविषेक सुमनले भन्नुभयो, ‘हालसम्म बिरामीको सङ्ख्या बढेर ४० जनाभन्दा बढी पुगिसकेको छ ।’ डा.सुमनका अनुसार उनीहरुलाई घरैमा गएर उपचार गरिएको छ भने ल्याब परीक्षणका लागि प्राथमिक केन्द्रमा बोलाइएको छ ।

बिरामी सबैको अवस्था सामान्य रहेकाले तत्काल नियन्त्रण बाहिर नरहे तापनि कोरोना भाइरसको जोखिम रहेका बेला केही समस्या भएको चिकित्सकको भनाइ छ । मौसम परिवर्तनका बेला विभिन्न किसिमका रोग लाग्ने भएकाले सचेत रहन चिकित्सकले सबैलाई आग्रह गरेका छन् ।

विश्वले सामना गरिरहेकोे कोभिड–१९ को जोखिमसँग अन्य रोगसमेत बढ्नसक्ने भएकाले सरकारले यसतर्फ पनि ध्यान दिनुपर्ने डा. सुमनको भनाइ छ । कोरोनामा केन्द्रित हुँदा अन्य रोगले महामारीको रुप लिन सक्नेतर्फ सबै सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

हिमाली जिल्ला सोलुखुम्बुमा हालसम्म ११६ जनाको कोरोना भाइरस सङ्क्रमण आरडिटी परीक्षण गरिएको छ । हालसम्म गरिएको आरडिटी परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय सोलुखुम्बुका निमित्त कार्यालय प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिनुभयो ।

यस्तै वैदेशिक रोजगारीबाट जिल्ला आएका पाँचजनाको पिसिआर टेष्ट गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्लाको विभिन्न क्षेत्रमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ३३ छ । बाहिरी जिल्ला र वैदेशिक रोजगारबाट आएका शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित कार्यालय प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिए । (रासस)

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।