मंगलबारे अस्पतालमा राखियो ‘पिपिई बुथ’

विराटनगर । उर्लाबारी नगरपालिका–३ स्थित मंगलबारे अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि स्वाब कलेक्सन बुथ राखिएको छ ।

मदन भण्डारी स्मृति प्रतिष्ठानको र राष्ट्रिय युवा संघ नेपाल मोरङको सहयोगमा मंगलबारे अस्पताल परिसर भित्र स्वाब संकलन गर्नका लागि बुथ राखिएको हो ।

चिकित्सकको सुरक्षा व्यवस्थालाई ध्यानमा राखी स्वाब संकलन र बिरामी जाँचमा बुथले ठूलो सहयोग मिल्ने मंगलबारे अस्पतालका निमिक्त मेडिकल सुपरिटेन्डेण्ट डा. योगश कुमार मण्डलले बताउनु भयो । उहाँले कोरोना भाइरसको आशंका लागेका विरामीहरुको स्वाब कलेक्सनका लागि निर्माण गरिएको बुथ प्राप्त भएकोले स्वाब कलेक्सन गर्दा चिकित्सक एवं स्वास्थ्यकर्मीलाई हुने संक्रमणको जोखिमबाट जोगाउने उहाँले बताउनु भयो ।

त्यस्तै यसको प्रयोगबाट स्वास्थ्यकर्मीले लगाउने पिपिईलगायतका अन्य स्वास्थ्य सामाग्रीको बचत हुने उहाँले बताउनु भयो । स्वाब कलेक्सन बुथ पाएसँगै अस्पतालले कोरोना भाइरसको संक्रमणको आशंका गरिएका बिरामीलाई पनि राम्रो सेवा दिन सक्ने उहाँको भनाइ छ ।

स्वाब संकलन गरेपछि मंगलबार अस्पतालले परीक्षणको लागि विराटनगरस्थित कोशी अस्पतालमा र धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान पठाउने गरेको छ ।

स्वाब कलेक्सन बुथ उपलब्ध गराउँदै मदन भण्डारी स्मृति प्रतिष्ठानका सहसचिब अग्नी भट्टराईले अस्पतालले सुरक्षित रुपमा बिरामीको स्वाब कलेक्सन गर्न यसले सहयोग पु¥याउने बताउनु भयो । राष्ट्रिय युवा संघ नेपाल मोरङका अध्यक्ष नविन पौडेलले स्वास्थ्यकर्मी र बिरामी दुवैलाई संक्रमणको जोखिमबाट जोगाउन यसले सहयोग गर्ने बताउनु भयो । बुथमा प्रयोग गरिएका सामाग्रीहरु गुणस्तरीय रहेको र बुथ भित्र राम्रोसँग हावा पास हुने व्यवस्थालाई सुरक्षित बनाइएको छ ।

शुक्रबार, १९ बैशाख, २०७७, साँझको ०६:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर