सोलुखुम्बु । जिल्लाका स्थानीय तहले अन्यत्र स्थानमा अलपत्र परेका आफ्ना नागरिकको खोजी शुरु गरेको छ ।
थुलुङदुधकोशी गाउँपालिकाको कार्यपालिका बैठकले लकडाउनका कारण पालिका बाहिर असहज अवस्थामा बसेका नागरिकको उद्धार गर्ने निर्णय गरेको छ । काठमाडौँलगायतका क्षेत्रमा अलपत्र रहेका नागरिकको उद्धार गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । प्रदेश र सङ्घीय सरकारसँगको समन्वयमा कोठाभाडामा बसेका विपन्न परिवारलाई पालिकाको खर्चमा उद्धार गर्ने निर्णय गरिएको हो ।
ल्याइएका मानिसलाई क्वारेनटाइनमा राख्ने या सुरक्षित साथ होम क्वारेनटाइनमा राख्ने विषयमा सम्बन्धित वडाले निर्णय र अनुगमन गर्ने बताइएको छ ।
नेचासल्यान गाउँपालिकाले पनि अन्यत्र बसोबास गर्नेहरुको विवरण सङ्कलन शुरु गरेको छ । गाउँपालिका प्रवक्ता धर्मध्वज खत्रीले वैशाख १० गतेभित्र तथ्याङक सङ्कलन गरिने जनाउनुभयो ।
लामोजुरा पारीको लिखुपीके गाउँपालिकाले पनि वडागतरूपमा विवरण सङ्कलन शुरु गरेको जनाएको छ । गाउँपालिकाले तथ्याङ सङ्कलन सकेपछि घर आउनेलाई सवारीसाधनको व्यवस्था गर्ने र बाहिर बस्नेलाई राहत दिने गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले जानकारी दिनुभयो ।
खुम्बु पासाङल्हामु गाउँपालिकाले पनि १० गतेसम्म काठमाडौँमा रहेका व्यक्तिको तथ्याङ्क सङ्कलन गरिसक्ने र उद्धारको कार्य शुरु गर्ने गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिनुभयो ।
कोशीपारिको गाउँपालिका महाकुलुङका अध्यक्ष सागर किराँतीका अनुसार गाउँपालिका बाहिर बाध्यात्मक अवस्थामा बसेका नागरिकको विवरण सङ्कलनको काम शुरु गरिएको छ । यस्तै माप्य दूधकोशी गाउँपालिकाले पनि समस्यामा परेका नागरिकको विवरण सङ्कलन शुरु गरेको जनाएको छ ।
सोलुदूधकुण्ड नगरपालिकाले भने व्यक्तिगतरूपमा समस्यामा परेकालाई उद्धार गर्ने विपन्न परिवारलाई राहत दिने काम गरिरहेको छ ।
गाउँपालिकाले उद्धार गर्ने भएपछि स्थानीय नागरिक भने हर्षित भएका छन् । उनीहरुले सामाजिक सञ्जालमा जनप्रतिनिधि र स्थानीय सरकारको प्रशंसा गरेका छन् । थुलुङदूधकोशीले पीडित नागरिकका लागि सरकारको भूमिका निर्वाह गरेको काठमाडौँमा बस्दै आउनुभएकी उर्मीला केसीले बताउनुभयो ।
थुलुङदूधकोशी–८ घर भई हाल काठमाडौँमा बस्दै आउनुभएकी अप्सरा राईले भन्नुभयो, “भोट माग्दा मात्र होइन, समस्या पर्दासमेत स्थानीय सरकारले नागकिरलाई सम्झिएकामा खुशी छौँ ।”