विराटनगर । कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन विराटनगर महानगरपालिका भित्रका मस्जिदहरुको अनुगमन गरिएको छ ।
महानगरपालिकाका प्रमुख भीम पराजुलीले मुस्लिम समुदायका अगुवासँंगको सहकार्य र समन्वयमा शनिबार मस्जिदको अनुगमन गरिएको जानकारी दिनुभयो । अनुगमनमा मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्व अधिकारी ,नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य हसन अन्सारी,वडा नं १५ का वडाध्यक्ष असलम आलम लगायत सहभागि हुनुहुन्थ्यो ।
मुस्लिम समुदायको अवस्था बुझ्न आग्रह गरिए अनुसार अनुगमन गरिएको र आपसी धार्मिक सद्भाव तथा एकतालाई अझ बलियो बनाउँदै कोरोना भाइरसको जोखिम विरुद्ध लड्न आवश्यक रहेको प्रमुख पराजुलीले सो अवसरमा बताउनुभयो ।
यहाँस्थित वडा नं. १५ मा रहेको रानीमरकज जामे मस्जिदमा अनुगमनको क्रममा बहिरबाट नयाँ आगन्तुक आएका नदेखिएको महानगरपालिकाका सामाजिक महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिनुभयो । अनुगमनमा सहभागि काङग्रेसका केन्द्रीय सदस्य अन्सारीले मुस्लिम समाज कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सामूहिक रुपमा सचेत रहेको उल्लेख गर्नुभयो ।
वडाध्यक्ष आलमले अन्यत्रबाट कोही पाहुना आएका भए तत्काल प्रहरी अथवा स्थानीय निकायलाई जानकारी दिन र लकडाउनको पालना गर्न आग्रह गर्नुभयो । जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अधिकारीले अनुगमनका क्रममा मुस्लिम अगुवा कोरोना भाइरसको जोखिम हुन नदिन सचेत भएको र सहयोगी भूमिका खेलेको बताउनुभयो । महानगरपालिका भित्र १९ वटा वडा मध्ये ९ वटा वडामा मात्रै २५ वटा मस्जिद रहेको बताइएको छ ।