विराटनगर । कोरोना भाइरसको रोकथामका लागि सरकारको गरेको लकडाउनमा आम नागरिकहरुको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै न्यूरो हस्पिटलले ‘कल न्यूरो’ सेवा ल्याएको छ ।
झण्डै एक महिना देखिको लकडाउनले अत्यावश्यक बाहेकका नियमित गर्ने जाँच गर्न कठिनाई भोगिरहेका नगरबासीहरुका लागी न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले ‘कल न्यूरो’ सेवा ल्याएको हो । हस्पिटलले सेवाग्राहीलाई सरल र सहज रुपमा सेवा दिन तथा बिरामीहरुलाई घर बसी फोन मार्फत नै विभिन्न सेवाहरु प्राप्त गराउने उद्देश्यले हस्पिटलले उक्त सेवा सञ्चालनमा ल्याएको छ । यस सेवा अन्तर्गत सेवाग्राहीहरुले टेलिमेडिसिन सेवा, होम डेलिभरि मेडिसिन सेवा र होम स्याम्पल कलेक्सन (प्याथोलोजि) मुख्य ३ सेवाहरु प्राप्त गर्न सक्नेछन ।
देश लकडाउनको अवस्थालाई पालना गर्दै यस, अस्पतालले टेलिमेडिसिन सेवा अन्तर्गत बिरामीहरुले घरमै बसी फोन तथा मेसेज मार्फत बरिष्ठ विशेषज्ञ चिकित्सकहरुसँग प्रत्यक्ष रुपमा सम्पर्क गर्न सक्नेछन् । यस सेवामा बिरामीहरुले बिहान साढे १० बजे देखि दिउँसो साढे १२ बजे सम्म सम्बन्धित बरिष्ठ विशेषज्ञ चिकित्सकहरु सँग स्वास्थ्य परामर्श लिन सक्ने व्यवस्था मिलाईएको अस्पतालले जनाएको छ । त्यस्तै अस्पतालले कुन दिन ? कुन चिकित्सकसँग सम्पर्क गर्ने ? सो बारे सम्पुर्ण जानकारी तथा उनीहरुको फोन नम्बर हस्पिटलको फेसबुक पेजमा प्रकाशन गरिने जनाएको छ ।
यस्तै होम डेलिभरि मेडिसिन सेवा अन्तर्गत अस्पतालले चिकित्सकको पुर्जाको आधारमा विराटनगर महानगरपालिका भित्र घर—घरमा औषधी पुर्याउने व्यवस्था मिलाएको छ । त्यस्तै होम स्याम्पल कलेक्सन(प्याथोलोजि) सेवामा हस्पिटलले विराटनगर महानगर भित्र रगत, दिशा, पिसाब तथा खकारको नमुनाहरु घरबाटै सङकलन गरि डिजिटल रिर्पोट प्रदान गर्ने सेवा सुचारु गरेको छ । हस्पिटलले औषधी वितरण र प्याथोलोजी सेवामा कुनै पनि होम डेलिभरी शुल्क नलिने जानकारी दिएको छ ।
अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले कोरोना भाइरसको सङक्रमणको त्रास र लकडाउनको अवस्थालाई ध्यानमा राख्दै बिरामीहरुका लागी यस किसिमको सेवा सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले आगामी दिनहरुमा आवश्यकता अनुसार थप सेवा विस्तार गर्न सकिने जानकारी दिनुभयो ।