कानेपोखरी । महामारीको रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि राज्यले तेस्रोपटक लकडाउनको समयसीमा थपिरहँदा ग्रामिण भेगका किसान घाँस, दाउरा र पाकेको बाली भित्र्याउन व्यस्त छन् ।
मोरङको ग्रामिण क्षेत्रका किसानहरू यतिखेर पाकेको बाली र वनबाट घाँस, दाउँरा ल्याउने गरेका हुन् । किसानहरु एक साता घरभित्रै बसेपनि अब विस्तारै खेतमा सुकिरहेको गहुँ काट्न, पाकेको मुसुरीको दाल र घास दाउँरा ल्याउन व्यस्त भएका छन् ।
मोरङ कानेपोखरी ६ की सरीता पराजुलीले पाकेको बाली दाल र गहुँ समयमा नभित्राउँदा पछि बिग्रिने भएकोले काम गर्न थालेको बताउनुभयो । सोही ठाउँकी देवी कुमारी श्रेष्ठले धेरै दिन घरमै बसेर बालीनाली बर्बाद भएको देख्न नसक्ने भएकोले समयमै गहुँ भित्र्याउन लागिरहेको बताउनुभयो ।
उर्लाबारी २ की चन्द्रा श्रेष्ठले घरमा आगो बाल्ने दाउँरा सकिएपछि वनमा भएर घाँस दाउरा ल्याउनु परेको बताउनुभयो । ‘स्टक गरिएको दाउँरा पनि सकियो,’ उहाँले भन्नुभयो, ‘खाना पकाउन समस्या भएपछि नजिकै रहेको वनमा गएर सुकेको दाउँरा ल्याउने गरेका छौं ।’ स्थानीय उपभोक्ता उर्लाबारी २ मा रहेको बेतनी सामुदायिक वनमा घाँस, दाउँरा गर्न जान गरेका छन् । वनका अध्यक्ष भिम राईले कोरोनाले गर्दा उपभोक्तलाई जंगल नजान आग्रह गरिएको भए पनि नरोकिएको बताउनुभयो ।
विराटनगरस्थित कोशी अस्पतालका फिजिसियन डा. रोशन खड्काले विदेशबाट आएका कोरोना पीडितले परिवारजन र छिमेकमा कोरोना सार्ने दोस्रो चरणको अवस्थामा नेपाल गुज्रिरहेकोले खेतीपाती गर्ने किसान पनि जोखिममा रहेको बताउनुभयो । ‘खेतमा काम गर्न सकिन्छ तर सामाजिक दुरी र रूघाखोकीका बिरामीहरूबाट टाढै बस्न ठीक हुन्छ’, उहाँको सुझाब छ ।
किसान तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूलाई खेतमा काम गर्दा कम्तीमा ६ फिटको दुरी कायम गरि काम गरिनुपर्ने चिकित्सकको सुझाब छ ।