र्यापिड टेस्टको विश्वसनीयतामा प्रश्न
विराटनगर । नयाँ वर्ष २०७७ को पहिलो दिन सुदूरपश्चिम प्रदेशको कैलालीमा थप एक जनालाई कोरोना पुष्टि भएको छ ।
आइतबार तीन जनामा कोरोना पुष्टि भएको बीरगञ्जमा १५ दिन अगाडि पुगेर फर्किएकी कैलालीको लम्किचुहा नगरपालिकाकी ६० बर्सिया महिलामा कोरोना पोजेटिभ देखिएको हो।
लम्किचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्यापिड टेस्टमा नेगेटिभ देखिएपछि उनलाई चैत २८ गते घर पठाइएको थियो । उनको थप परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा स्वाब पठाएकोमा पोजेटिभ देखिएको लम्किचुहा अस्पतालका प्रमुख डा.प्रकाश तिमिल्सिनाले जानकारी दिनुभएको छ ।
उनी वीरगञ्ज नाकामा चिया बेच्थिन् । उनीसहित १७ जना चैत ९ मा मात्र कैलालीको लम्की पुगेका थिए ।
कोरोना पोजेटिभ देखिएपछि ती महिलालाई सेती प्रादेशिक अस्पताल पठाउने तयारी भएको छ । यो सँगै कैलालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ पुगेको छ भने देशभरि १३ पुगेका छन् ।
यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजु, भारतबाट फर्किएका लम्कीकै पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुषमा कोरोनाको संक्रमण पुष्टि भईसकेको छ। उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।
चीनबाट ल्याइएको र्यापिड टेस्ट किटको विश्वसनीयतामा प्रश्न उठिरहेको बेला कैलालीमा र्यापिड टेस्टमा नेगेटिभ देखिएको महिलाको स्वाव प्रयोगशालामा पोजेटिभ देखिएपछि झनै अन्यौल बढेको छ । ती महिलासँगै विरगञ्जबाट फर्किएका १७ जनाको भने र्यापिड टेस्टमा र प्रयोगशालामा पनि नेगेटिभ नतिजा आएको बताइएको छ ।
र्यापिड टेस्ट र पिसिआर परीक्षणको लागि धनगढीबाट स्वास्थ्यकर्मीको टोली उनीहरू बसेको क्वारेन्टिनमा पुगेका थियो। बिरगञ्जबाट फर्किएका उनीहरु आ–आफ्नो घर पुगेकोमा लम्कीचुहा गाउँपालिकाले त्यसको जानकारी पाएपछि क्वारेन्टाइनमा पठाएको थियो ।
क्वारेन्टाइनमा बसेकाहरुको र्यापिड टेष्ट किटबाट चैत २८ गते परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई चैत २८ गते घर पठाइएको थियो । ती महिला भुरूवास्थित आफन्त कहाँ गएकी थिइन् ।
कोरोना संक्रमण देखिएन भनेर घर पठाइएको व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको कैलालीको यो दोस्रो घटना हो । यसअघि चौथो संक्रमितको आफन्तलाई पनि सुरुमा क्वारेन्टाइनमा राखेर कोरोनाको लक्षण नदेखिएको भन्दै घर पठाइएको थियो । तर, पछि परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । दिनेश खबरको सहयोगमा