विराटनगर । लकडाउन उल्लंघन गरेर कुदाएको मोटरसाइकलले ठक्कर दिँदा शुक्रबार साँझ मोरङमा एक जना सशस्त्र प्रहरी निरीक्षक घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १८ प ६२९३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सशस्त्र बेस क्याम्प लक्ष्मीमार्गमा कार्यरत प्रहरी निरीक्षक चेतन बाह्रकोटी घाइते भएका हुन्।

बाह्रकोटीको दाहिने कुमको जोर्नी खुस्किएको मोरङ प्रहरीले जनाएको छ । उनको झापाको विर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

लकडाउन कार्यान्वयनका लागि राजमार्गमा खटिएका बाह्रकोटीले मोटरसाइकल रोक्न खोज्दा ठक्कर दिएको थियो । मोटरसाइकल चालक मोरङको मिक्लाजुङ गाउँपालिका– १ का २९ वर्षीय तीर्थबहादुर राई र पछाडि सवार १९ वर्षीय सुजन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तीर्थबहादुर मिक्लाजुङको चन्द्रोदय आधारभूत विद्यालयका शिक्षक रहेको खुलेको छ। लकडाउनका समयमा खोर्सानेस्थित डेराबाट मोटरसाइकलमा मिक्लाजुङ घरतर्फ फर्किएको उनीहरुले बताएका छन् ।
राईसँग सवारी पास पनि नभएको प्रहरीले जनाएको छ ।